बैभव वीरगन्ज

Jasus Khabar 3942+ समाचार ( )
१८ वैशाख २०८२

ठीक एक वर्ष अगाडिको कुरा हो। वीरगन्ज घुमेर विराटनगर फर्किएका सरोजानन्द मि श्राले वीरगन्ज निबासी आफ्ना मित्र चन्द्रकिशोरलाई मोबाइलमा एक सन्देश लेखेर यस्तो पठाएका थिए– तुम्हारे सहरका मौसम बडा सुहाना लगे, मै एक साम चुरालु अगर तुम्हे बूरा ना लागे।’ (तिम्रो सहर त निक्कै मनमोहक पो भएछ, म त्यहाँको एक रात चोर्न चाहन्छु यदि तिमीलाई नराम्रो लाग्दैन भने।) 

हो मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज सहरको मुहार फेरिएको छ। मुख्य सहरी क्षेत्र सफासुग्घर देखिन्छ। सहरमा रहेका धार्मिक मठमन्दिरहरूको सौन्दर्यीकरण गरेर आकर्षक बनाइएको छ। 

वीरगन्जलाई केही बर्ष अघिसम्म फोहोर र मच्छडको सहर भनेर गिज्याइन्थ्यो। वीरगन्जले मच्छडगन्जको उपमा पनि पाएको थियो। तर, अहिले वीरगन्जको मुहार फेरिएको छ। 

वीरगन्जका मुख्य शहरी क्षेत्रका सडक स्वच्छ र सफा देखिन्छन्। यहाँका धार्मिक र पर्यटकीय सम्पदाहरू पूर्ननिर्माण र सौन्दर्यीकरण गरेर आकर्षक पारिएका छन्। 

वीरगन्ज महानगरको नेतृत्व मेयर राजेशमान सिंहले सम्हालेको ३ वर्ष पुग्दै छ। त्यस यता महानगरको नेतृत्वले वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउने नारा लिएर सहरको सरसफाइ र सौन्दर्यकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ। त्यसैको नतिजा हो अहिलेको स्वच्छ र सफा वीरगन्ज।वीरगन्ज शहरको मुहार फेरिनुमा अहिलेको नेतृत्वले लिएको निर्मम निर्णयहरूका कारणले पनि हो। सडक, नाला वा खाली जग्गामा जथाभावी फोहोर फाल्नेलाई वीरगन्ज महानगरपालिकाले आर्थिक जरिवाना तिराउने गरेको छ। महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँका अनुसार, गत एक वर्षमा जथाभावी फोहोर फाल्ने १ हजार ४ सय ४१ जनालाई कारबाही गरी ४२ लाख ४३ हजार १०५ रुपैयाँ जरिवाना तिराइएको छ। 

महानगरले हरेक वडामा बिहान र साँझमा गरी दुईपटक ट्र्याक्टर र दुईपाङग्रे ठेला पठाएर घर, पसल वा संस्थाका फोहोर संकलन गर्दै आएको उनले बताए। यसका साथै सहरी क्षेत्रका मुख्य सडकमा दैनिक ३ पटक झाँडु पनि लगाउने गरिएको उनले बताए। 

वीरगन्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउने मेयर सिंहको नारालाई सार्थकता दिन महानगर क्षेत्रमा वर्षौंदेखि ओझेलमा रहेका ऐतिहासिक धार्मिक मठमन्दिरहरूको महानगरपालिकाले सौन्दर्यकरण गरेको छ। वीरगन्जकै प्रमुख शक्तिपीठ गहवामाई मन्दिर र मन्दिर प्रांगणको स्तरोन्नति र सौन्दर्यकरण गरी आर्कषक बनाइएको छ। 

यस्तै मन्दिर प्रांगणमा रहेका पुराना संरचना हटाएर पार्क जस्तै फराकिलो र खुल्ला बनाइएको छ। यस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर जस्तै रहेको वीरगन्ज चिनी मिल परिसरको झन्डै चार दशक पुरानो पशुपतिनाथ मन्दिरको पनि सौन्दर्यकरण गरी विगत एक वर्षदेखि नियमित पुजापाठ सुरु गरिएको छ। यसका साथै अन्य १० भन्दा बढी मन्दिरहरूको पनि रंगरोगन र विद्युतीय सौन्दर्यकरण गरिएको महानगरपालिको विद्युत् शाखाका प्रमुख ई. राजीवकुमार उपाध्याले बताए। 

वीरगन्ज–१४ पिपरामा रहेको झन्डै १३५ वर्ष पुरानो नरसिंह भगवान्को मन्दिरको पुनर्निर्माण र सौन्दर्यकरणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेर काम पनि सुरु गरिसकिएको मेयर सिंहले जानकारी दिए। यस्तै वीरगन्ज–१९ विन्दबासीनीमा रहेको बिन्दवासिनी माईको मन्दिर पुनर्निर्माण र स्तरोन्नतिका लागि डीपीआर (विस्तृत परियोजना प्रस्ताव) तयार भइसकेको छ।

वीरगन्जको चिनारी घण्टाघर, शंकरचार्य प्रवेशद्वारको पनि रंगरोगन र विद्युतीय सौन्दर्यकरण गरिएको विद्युत् शाखा प्रमुख उपाध्यायले बताए। 

यसका साथै वीरगन्ज सहरी क्षेत्रमा पर्ने सबै मुख्य सडकका डिभाइडरमा रहेका पोलहरूमा झिलिमिली बल्ने स्ट्रिट लाइटहरू जडान गरिएको उपाध्यायले जानकारी दिए। शंखधर शाख्वा राईको पार्कमा गार्डेन लाइटहरू जडान गरिएको उनले बताए। घण्टाघर परिसरभित्रै आकर्षक वाटर फाउन्टेन र गण्डक चोकको सहिद तेजबहादुर अमात्यको सालिक परिसरको पनि रंगरोगन गरी त्यहाँ पनि वाटर फाउन्टेन जडान गरिएको छ। शलिक परिसरकै छेउको खाली जग्गामा विद्युतीय सौन्दर्यकरण गरेर सेल्फि स्पोर्ट बनाइएको छ।

उपाध्यायले भने, ‘वीरगन्ज महानगरपालिकाले ‘उज्यालो अभियान’ नै चलाएको छ। जसका कारण वीरगन्ज सहर रातिको समयमा झिलीमिली देखिन्छ। अभियान अन्तर्गत महानगरका ३२ वटै वडामा गरी हालसम्म करिब १४ हजार विद्युत्को पोलमा बत्ती जडान गरिएको छ। 

सहरी क्षेत्रमा रहेका ४ सय ५० पोलमा स्ट्रिट लाइट लगाइएको छ। दुई स्थानमा हाई मास्ट लाइटपनि जडान गरिएको छ। वीरगन्ज सहरलाई झिलीमिली बनाउनका साथै रातभरि उज्यालो राख्न महानगरले ‘उज्यालो अभियान’ कार्यक्रम चलाएको उनले बताए।

वीरगन्ज शहरलाई ‘हरित सहर’ बनाउने अभियान पनि महानगरले चलाएको छ। सहरका विभिन्न स्थानका सडकको डिभाइडर र सडकको दायाँबायाँमा वृक्षरोपण गरिएको छ। महानगरका विभिन्न स्थानका सडकका डिभाइडर, सडकका दायाँबाया तथा खाली सार्वजनिक जग्गामा गरी हालसम्म १५ हजार बढी बिरुवा रोपिएको महानगरको वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख ई. साहले बताए। 

उनले भने, ‘२० किलोमिटर बढी सडकका डिभाइडर र दायाँबायाँमा हामीले अर्नामेन्टल प्लान्ट (फूल, सजावटका बोट) रोपेका छौं। अतिक्रणम मुक्त बनाइएका खाली जग्गाहरूमा भने काठ उत्पादन हुने रूखका बिरुवाहरू रापेका छौं।’ 

यस्तै शंखधर शाख्वा पार्क, ईको पार्क र ज्येष्ठ नागरिक पार्कमा पनि अर्नामेन्टल प्लान्ट रोपेको उनले बताए। वीरगन्जलाई हरित सहर बनाउने अभियान अहिले पनि जारी रहेको  साहले सुनाए। 

वीरगन्जमा अर्को एक पर्यटकीय गन्तब्य स्थलका रूपमा वीरगन्ज महानगरपालिकाले वीरगन्ज–१९ मा ५० करोड रुपैयाँको लागतमा कृत्रिम ताल बनाउने प्रकृया अगाडि बढाइसकेको इन्जिनियर प्रकाशमान अमात्यले जानकारी दिए। 

तिलावे जल पर्यटक क्षेत्र परियोजनाअन्तर्गत वीरगन्ज– १९ स्थित तिलावे नदि छेउको २५ बिघा क्षेत्रफलमा कृत्रिम ताल बनाउने प्रक्रिया थालिसकिएको अमात्यले जानकारी दिए। उनका अनुसार, त्यसका लागि एक वर्षअघि नै डीपीआर तयार भइसकेको थियो। अबको दुई वर्षभित्रमा ताल निर्माण हुने लक्ष्य लिएर काम अगाडि बढाइएको अमात्यले जानकारी गराए।

वीरगन्जका मेयर राजेशमान सिंह भने वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउने अभियानमा लागेको बताए। वीरगन्जमा पर्यटकलाई टिकाउन हरेक चाडपर्ब वा उत्सवमा वीरगन्जमा रात्री बजार पनि आयोजना गर्दै आएको मेयर सिंहले बताए। भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गरिरहेको उनले सुनाए। 

उनले भने, ‘सहरीमात्रै नभई ग्रामीण भेगका वडामा कालोपत्रे र ढलान सडक निर्माण गरिएको छ।’ देशका ६ वटा महानगरमध्ये सबैभन्दा कम बजेट संघ सरकारबाट वीरगन्जले नै पाउने गरेको गुनासो सुनाउँदै उनले भने, ‘वीरगन्जवासी, यहाँका उद्योगी–व्यापारी सबैको हातेमालो भयो भने वीरगन्ज ‘बैभव वीरगन्ज’ बन्छ नै।’

प्रतिक्रिया