समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन

Jasus Khabar 3958+ समाचार ( )
१३ श्रावण २०८३

सुनसरीको कप्तानगञ्जमा भएको घटना केवल एउटा स्थानीय विवाद हाेइन; यसले हाम्रो मन, हाम्रो समाज र हाम्रो साझा विश्वासलाई गहिरो चोट पुर्‍याएको छ । एउटा निर्दोष नेपाली नागरिकले ज्यान गुमाएका छन्, धेरै घाइते भएका छन्, र वर्षौँदेखि विश्वासका आधारमा बाँचेको समाजमा डर, पीडा र अविश्वासको बादल मडारिएको छ । यस्तो अवस्था कुनै पनि मानवताप्रेमीले चाहँदैन ।

प्रधानमन्त्रीले पनि सार्वजनिक रूपमा स्वीकार गर्नुभएको छ कि सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु भएको हो । यस घटनाको निष्पक्ष छानबिन हुने, दोषीमाथि कानूनबमोजिम कारबाही गरिने तथा पीडित परिवारलाई न्याय, राहत र क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता सरकारले जनाएको छ । यो प्रतिबद्धता व्यवहारमा परिणत हुनु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।

मृतक ओमप्रकाश मेहताको तस्वीर हेर्दा मन भक्कानिन्छ । एउटा परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ । त्यो पीडाको कुनै विकल्प छैन । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

तर आजको आवश्यकता शोक व्यक्त गर्नु मात्र होइन, समाजलाई थप विखण्डित हुनबाट जोगाउनु पनि हो । यही कर्तव्यबाेधले ललकारेकाे छ ।

म त्यही समाजको मान्छे हुँ जहाँ मेरा साथी बेचन खत्वे छन्, वीरेन्द्र केएम छन्, बलराम मेहता छन्, सदानन्द मेहता छन्, जैनुद्दीन अन्सारी माडसाब छन्, आलम अन्सारी छन्, र यस्ता कैयन् हिन्दू र मुस्लिम साथीहरू छन् । हामीले एउटै माटोमा खेलेका छौँ, एउटै खेतको अन्न खाएका छौँ, एउटै बजारमा व्यापार गरेका छौँ, सुख-दुःख साटेका छौँ । हाम्रो सम्बन्ध कुनै एक घटनाले समाप्त हुन सक्दैन । र, कुनै आस्ता र धर्मले पनि हामीलाई अलग्याउन सक्दैन ।

कमरिया निकाल्ने पवित्र यात्रामा सहभागी हिन्दू दाजुभाइ मुस्लिम बस्तीमा कसैसँग युद्ध गर्न गएका थिएनन् । डिजे नबजाइदिन आग्रह गर्ने मुस्लिम दाजुभाइले पनि एउटा निर्दोष नागरिकको मृत्यु होस् भन्ने चाहेका थिएनन् । तर दुर्भाग्यवश घटनाक्रम यस्तो मोडमा पुग्यो जहाँ प्रहरी र एक समूहबीचको भिडन्तले निर्दोष नागरिकको ज्यान नै गयो । कसैले न चिताएकाे नियति भाेग्न पुग्याे त्याे समाज  । यही यथार्थलाई स्वीकार गर्दै सत्य र न्यायको बाटोमा अघि बढ्नु आज सबैको साझा जिम्मेवारी हो ।

हामीले आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ—मुस्लिम बस्ती हुँदै हिन्दूको धार्मिक यात्रा जानु हुँदैन भनेर कुन कुरआनमा लेखिएको छ? हिन्दू–मुस्लिम मिश्रित बस्तीमा मस्जिदको अजान गुञ्जनु हुँदैन भनेर कुन पुराणमा लेखिएको छ? संसारभर मन्दिरका घण्टी, कीर्तन, मस्जिदका अजान र तिलावत एउटै आकाशमुनि गुञ्जिरहेका छन् । सक्छाै राेक्न ? विविधता नै हाम्रो सभ्यता हो, विभाजन होइन ।

हाम्रा पुर्खाहरूले कप्तानगञ्जमा श्रमदान गरेर सबैका लागि साझा बाटो बनाएका थिए । सबैले प्रयोग गर्ने कुलो खनेका थिए । साझा श्रम, साझा विश्वास र साझा संस्कृतिबाट कप्तानगञ्ज सभ्यताकाे निर्माण भएकाे हाे ।  के हामी आज छुट्टाछुट्टै बाटो बनाउन सक्छौँ? छुट्टाछुट्टै नदी बगाउन सक्छौँ? छुट्टाछुट्टै हावामा सास फेर्न सक्छौँ? पक्कै सक्दैनाै ।

यसैले आज बदलाभन्दा ठूलो कुरा आत्मसमीक्षा हो ।  आरोपभन्दा ठूलो कुरा आत्मग्लानी र प्रायश्चित हो ।  रिसभन्दा ठूलो कुरा संयम हो र विभाजनभन्दा ठूलो कुरा मानवता हो ।

यो पनि स्पष्ट रूपमा बुझ्न आवश्यक छ कि यस घटनालाई हिन्दू–मुस्लिम समुदायबीचको स्थायी द्वन्द्वका रूपमा चित्रण गर्नु उचित हुँदैन । कुनै मुस्लिमले कुनै हिन्दूलाई मारेर यो घटना भएको होइन । प्रधानमन्त्रीले नै उल्लेख गर्नुभएको छ—सुरक्षाकर्मीको गोलीबाट नागरिकको मृत्यु भएको हो । त्यसैले वास्तविक दोषी पहिचान गरी निष्पक्ष अनुसन्धान र कानूनी कारबाही नै न्यायको आधार हुनुपर्छ, अफवाह र सामूहिक आरोप होइन ।

आज हाम्रो सबैभन्दा ठूलो धर्म मानिस बचाउनु हो । सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा, दोषीलाई कानूनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउनु हो । समाजको दायित्व संयम, धैर्य, सद्भाव र आपसी विश्वासलाई जोगाउनु हो ।

आउनुहोस्, ओमप्रकाश मेहताको स्मृतिलाई घृणाको माध्यम होइन, सामाजिक एकताको प्रेरणामा रूपान्तरण गरौँ । उहाँका परिवारको आँसु पुछ्न सबै मिलेर उभिऔँ । घाइतेहरूको उपचार र पीडित परिवारको न्यायका लागि आवाज उठाऔँ । तर एकअर्काविरुद्ध होइन—एकअर्कासँगै उभिएर ।

समाज बचाऔँ । मानवता जाेगाऔँ । न्यायको साथ देऔँ ।सद्भावको रक्षा गरौँ ।

किनकि अन्ततः प्रश्न एउटै छ—

के मिलेर बस्नुको विकल्प छ?

(लेखक पूर्व संघीय मन्त्री तथा संविधानसभा सदस्य हुन् ।)

प्रतिक्रिया