हेपाटाइटिस रोकथाममा गुणस्तरीय स्वास्थ्य

Jasus Khabar 3942+ समाचार ( )
१४ श्रावण २०८२

स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ। स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ।

संविधानले प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा नि : शुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्छ । गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्छ । सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।

सोह्रौं योजनाको अन्तसम्म मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ८५ जना, नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १३ जना, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ जना छ । पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपनको अवस्था १७ प्रतिशत, सडक दुर्घटनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिलाख जनसंख्यामा ५ जना छ । पूर्ण खोप लगाउने बालबालिका ९५ प्रतिशत, स्वास्थ्यकर्मी उत्पादन प्रतिहजार जनसंख्यामा ४.६४ जना, स्वास्थ्य जन्ममा आबद्ध जनसंख्या ७० प्रतिशत, स्वास्थ्य बिमा कार्यक्रममा नवीकरण दर ९० प्रतिशत छ । यस्तै, कुल स्वास्थ्य खर्चमा व्यक्तिगत तहमा हुने खर्च ३८ प्रतिशत, ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएको घरधुरी ८६ प्रतिशत, पाँच वर्षमुनिका बच्चामध्ये जन्मदर्ता गरिएको बालबालिका १०० प्रतिशत हासिल गर्ने लक्ष्य छ ।

लक्ष्य हासिल गर्न आधारभूत स्वास्थ्य सेवा नि : शुल्क प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु, स्वास्थ्य बिमा प्रणालीलाई पुनर्संरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको अत्याधुनिक र उच्चतम् प्रविधिकरण गर्ने गर्नुपर्छ । गुणस्तरीय, भरपर्दाे तथा एकीकृत स्वस्थ्य प्रणालीको विकास गर्ने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने, बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवलम्बन गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने, अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने पनि छन् । औषधि, औषधिजन्य सामग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सुशासन तथा सामाजिक न्याय कायम गर्ने, स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि लगानी अभिवृद्धि गर्ने, सञ्चालनमा रहेका कार्यक्रम पुन :  मुल्यांकन र परिमार्जन गर्ने रणनीति छ ।

मुलुकमा लोकतन्त्रको बहालीसँगै राज्यसँग आमजनताले गर्ने अपेक्षामा अत्यधिक वृद्धि हुनुका साथै चेतनास्तरमा भएको विकासका कारण सार्वजनिक सेवाप्रवाहलाई नागरिकको हित अनुकूल बनाउनुपर्ने आवश्यकता टड्कारो देखिन्छ । लोकतान्त्रिक परिपाटीले नागरिकको सार्वजनिक सेवाप्रतिको चासो र जनस्तरबाट यसको प्रभावकारी अनुगमनलाई थप बल पुर्‍याएको छ । नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि : शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकभित्र समावेश गरेको पाइन्छ ।

प्रत्येक वर्ष जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाइन्छ । भाइरल हेपाटाइटिसको प्रभाव घटाई विश्वभरका मानिसलाई गुणस्तर स्वास्थ्य बनाउने उद्देश्यले विश्वभरका मानवहरू एकजुट हुनु नितान्त आवश्यक देखिएको छ । जसले मानवको गुणस्तर स्वास्थ्यमा विकराल समस्या ल्याउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्ने हो भने विश्वभरमा करिब ३२ करोड ५० लाख मानिस भाइरल हेपाटाइटिस बी र सीबाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने सयमध्ये ९० जना यस रोगबाट अनविज्ञ रहने पनि तथ्यांकले जनाएको छ । जुन विकराल समस्या हो ।

मानव स्वास्थ्यलाई झन् अस्वस्थकर बनाउने यस्तो अनविज्ञता र अज्ञानता हटाउनुको विकल्प छैन । एचआईभी, एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि संसारभरका मानवलाई मृत्युको सिकार बनाउँदै लगेको छ । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुन्छ । कलेजोको क्यान्सर हुनमा पनि यसले प्रभाव पार्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणको कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्यगरी पाँच किसिमका हुन्छन्, ए, बी, सी, डी र ई ।

एचआईभी, एड्स, मलेरिया, क्षयरोगभन्दा हेपाटाइटिस बी र सी का प्रभावले बर्सेनि धेरै मानिसको मृत्यु भइरहेको छ । कलेजोको क्यान्सरले मृत्यु हुने तीनमध्ये दुई हेपाटाइटिसका रोगी छन् । हेपाटाइटिस बी र सीलाई मौन महामारीको रूपमा लिइन्छ । यसले मुख्यत :  बालबालिका र सिमान्तकृत समूहलाई धेरै असर पुर्‍याउँछ । लागुपदार्थ दुव्र्यसनी, एचआईभी एड्सका रोगीहरूलाई हेपाटाइटिसले बढी सताउने गर्छ । अत :  हेपाटाइटिसबारे जागरुकता बढाउन अति आवश्यक छ ।

स्वास्थ्य संस्थाको सहज पहुँच, स्वास्थ्यकर्मी र औषधिको सुलभ उपलब्धता भएमा यो रोगबाट बच्न सकिन्छ । स्वास्थ्य सेवा सुलभ र सहज प्रयोग नभएको हाम्रोजस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै पनि घातक छ । त्यसकारण हेपाटाइटिसबारे जागरुक भई विश्वभरका मानिसको स्वास्थ्य रक्षा गरी गुणस्तर राख्न यो दिवस मनाइन्छ । सन् २०२५ को विश्व हेपाटाइटिस दिवसले हेपाटाइटिस उन्मूलन र कलेजोको क्यान्सर रोकथामलाई जोड दिएको छ ।
मानवको गुणस्तर स्वास्थ्य सेवाबाट मात्र आर्थिक विकास सम्भव हुन्छ । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने राज्यको नीतिलाई भौतिक संरचनाको निर्माणले सघाए पनि गुणस्तर सेवा प्रवाहमा चुनौती भएको सम्बन्धित विज्ञहरूले बताएका छन् । यस चुनौतीको कारणले गुणस्तरीय स्वास्थ नभई यसको प्रभाव आर्थिक विकासमा पनि परेको छ ।

निष्कर्ष, गुणस्तर स्वास्थ्यका लागि स्वास्थ्य संस्थाहरू नीति र विधानअनुसार चल्नुपर्छ । आफ्नो हात जगन्नाथ हुनु हँुदैन । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनुपर्छ । औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्छ । आमनागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । नि : शुल्क औषधि बेलैमा उपलब्ध हुनुपर्ने, सो औषधि कति प्रकारको पाइन्छ ? सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसेकम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनुपर्छ ।

स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थाहरूमा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीहरूलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन अति आवश्यक छ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आमनागरिकको स्वास्थ्यमा गहन भूमिका खेल्नेछ र स्वास्थ्य सेवा गुणस्तर हुनेछ ।

प्रतिक्रिया