कञ्चनपुरमा झण्डै चार महिना अगाडि मृत फेला परेका लालझाडी गाउँपालिका– ४ जाई सिगलपट्टी शिविरका रामरेशर रानाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले हत्यामा रानाकी श्रीमतीसहित तीन जना संलग्न रहेको जानकारी दिएको हो ।>
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार रानाकी श्रीमती माया, उनका प्रेमी बेलौरी नगरपालिका– ४ का पुन्ना राना र लालझाडी गाउँपालिका–४ की मानमती चौधरी रानाको हत्यामा संलग्न रहेको जानकारी दिए ।>
‘प्रहरीले हत्यामा संलग्न भनिएका तीनै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो,’ डीएसपी बोहराले भने, ‘तीनै जना प्रतिवादीले हत्या गरेको स्वीकार गरेपछि मिसिल सरकारी वकिल कार्यालयमा बुझाएका थियौं ।’>
असार २६ गते जिल्ला अदालत कञ्चनपुरको आदेशले पुन्ना रानालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । भने, मृतककी श्रीमती माया चौधरी र मानमती चौधरीलाई एक–एक लाख धरौटीमा छोड्न आदेश भएको थियो । तर, दुबै जनाले धरौट बुझाउन नसकेपछि कारागार चलान गरिएको डीएसपी बोहराले बताए ।>
राना २७ वैशाख ०८२ मा घरनजिकै सडक छेउमा मृत फेला परेका थिए । भारतमा मजदुरी गर्दै आएका राना घर फर्केको १५ दिनमा मृत फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार परपुरुषसँगको सम्बन्धका कारण रानाको हत्या भएको जनाएको छ ।>
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार बेलौरी– ४ का पुन्ना राना र मृतक रामरेशरकी श्रीमती मायाबीच अनैतिक सम्बन्धले घटना निम्त्याएको हो । १६ वैशाखमा मायालाई मृतक रानाले पुन्नासँग आफ्नै घरमा देखेपछि झगडा भएको थियो । श्रीमान-श्रीमतीबीच हातपात हुन थालेपछि बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गर्दा उनको मृत्यु भएको बयान पुन्नाले प्रहरीसमक्ष दिएका छन् ।>
प्रहरीका अनुसार घरबाट रामरेशरको शवलाई सडक छेउमा फाल्न माया र मानमतीले पनि सघाएको अनुसन्धानबाट खुलेको छ ।>>