दुर्घटनामा घाइते डिके खानको ‘सहारा’ बन्यो सशस्त्र प्रहरी, समयमै उद्धार गरी अस्पताल पुर्‍याइयो

Jasus Khabar 3963+ समाचार ( )
७ अशोज २०८३

सुनसरी। सडक दुर्घटनामा घाइते भएर सडकमा छटपटाइरहेका एक व्यक्तिका लागि सशस्त्र प्रहरीको गस्ती टोली तत्कालै ‘सहारा’ बनेको छ। घटनास्थलमै पुगेर घाइतेको उद्धार गर्नुका साथै आफ्नै सवारीसाधनमा राखेर अस्पताल पुर्‍याएपछि सशस्त्र प्रहरीको मानवीय सेवाको प्रशंसा भएको छ।

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित हनुमान चोक, महेन्द्र राजमार्गमा बुधबार राति मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा भोक्राहा नरसिंह गाउँपालिका–५ का ५० वर्षीय डिके खान घाइते भएका थिए।

राति करिब ८:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प ५१९९ नम्बरको मोटरसाइकलले साइकलमा सवार खानलाई ठक्कर दिएको थियो। दुर्घटनापछि खान सडकमा घाइते अवस्थामा रहेको खबर पाएलगत्तै नजिकै गस्तीमा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको मोबाइल गस्ती टोली घटनास्थलमा पुगेको थियो।

सशस्त्र प्रहरी निरीक्षक गोविन्दकुमार सिंहको नेतृत्वमा खटिएको ९ सदस्यीय टोलीले दुर्घटनास्थलमै पुगेर घाइते खानलाई तत्काल उद्धार गरेको थियो। समय खेर नफाली सशस्त्र प्रहरीकै सवारीसाधनमा राखेर उनलाई उपचारका लागि जिल्ला अस्पताल, इनरुवा पुर्‍याइएको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनापछि सडकमा घाइते अवस्थामा रहेका खानका लागि त्यसबेला सबैभन्दा ठूलो आवश्यकता तत्काल उपचार थियो। गस्ती टोलीको समयमै उपस्थितिले उद्धार प्रक्रिया छिटो भएको र घाइतेलाई उपचारको पहुँचमा पुर्‍याउन सहज भएको बताइएको छ।

सशस्त्र प्रहरीको यो उद्धार कार्यले ‘सुरक्षा मात्र होइन, संकटमा मानवीय साथ पनि’ भन्ने भूमिकालाई थप उजागर गरेको छ। दुर्घटनामा घाइते व्यक्तिको जीवनरक्षाका लागि घटनास्थलमा तत्काल पुग्नु र अस्पतालसम्म पुर्‍याउनु उद्धारको महत्वपूर्ण पक्ष मानिन्छ।

दुर्घटनाको कारण तथा घटनासम्बन्धी थप विवरणबारे सम्बन्धित निकायबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया