शाहीको अभिव्यक्ति गैर सम्वैधानिक — नजरुल हसन फलाही

Jasus Khabar 3958+ समाचार ( )
१३ वैशाख २०८२

गए मङ्गलवार भारतको कश्मीरमा भएको आतङ्ककारी हमलामा २८ जनाले ज्यान गुमाउनु परेको दुखद घटनाले सबैलाई स्तब्ध बनाएको छ । यस घटनामा एक नेपाली नागरिकको पनि दुखद निधन भएको खबरले सम्पूर्ण नेपालीलाई चोट पुगेको छ । यो घोर अमानवीय, निर्दयी र कायरतापूर्ण आक्रमण हो ।


जुन आतङ्कवादी मानिसकताले काश्मिरको घटना घटाइएको छ त्यस्तै आतङ्कवादी मानिसकताका केही कट्टरपन्थी समूहहरूले हिन्दू धर्मको चोला ओढेर यस घटनालाई बहाना बनाई अनेक किसिमका उत्तेजित अभद्र टिप्पणीहरू गरेर नेपालभित्र धार्मिक द्वन्द्व भड्काउने प्रयास गरिरहेका छन् । आतङ्कवादको कुनै धर्म हुँदैन – इस्लाम होस् वा हिन्दू धर्म – कुनै पनि धर्मले हिंसा र द्वेषको समर्थन गर्दैन । कश्मीरमा केही आतङ्ककारीहरूले कथित रूपले इस्लामको नाम लिएर मानवताविरोधी कार्य गरेजस्तै नेपालमा केही समूहहरू हिन्दू धर्मको नाममा मुस्लिम समुदायप्रति आक्रोश र घृणा फैलाउने प्रयास गरिरहेका छन् ।


अहिले उनीहरूले मुस्लिमहरूलाई आतंकित गरिरहेका छन् र बहुसंख्यक नेपाली जनतालाई मुस्लिमहरूको विरुद्धमा उक्साइरहेका छन् । शब्दमार्फत्, अभिव्यक्तिमार्फत्, सामाजिक सञ्जालमार्फत् तिनीहरूले गरिरहेका यस्ता उत्तेजक गतिविधिहरू पनि आतङ्कवादकै स्वरूप हुन् जसले समाजमा डर, द्वेष र विखण्डन निम्त्याउँछ ।

हामीले विगतमा पनि देख्यौँ, नेपालमा धर्मको नाममा राज्य स्थापना गर्ने भनी उत्पात मच्चाएका अराजक हुलले एकजना नेपाली पत्रकारलाई जलाएर हत्या गरे र करोडौँको सम्पत्ति नष्ट गरिदिए । अहिले पनि तिनीहरूले खुलेआम धम्की दिइरहेका छन् । के यस्ता आतङ्कवादी घटनाको विरोध गर्नु सबैको कर्तव्य होइन ?


सञ्चार माध्यमहरूमा भनिएझैँ यदि धर्म सोधेर पर्यटकहरूलाई मारिएको हो भने त्यो गम्भीर विषय हो । तर, धेरै भारतीय मिडियाहरूले यस दाबीको खण्डन गरेका छन् । घटनामा परेका तथा प्रत्यक्षदर्शीहरूले लुकेर हमला गरिएको बताएका छन् । घटनामा ठूलो संख्यामा मुस्लिमहरूको पनि हताहत भएको छ । माननीय ज्ञानेन्द्र शाहीले भनेझैँ यदि गोप्य अंग हेरी हेरी मानिसहरूलाई मारिएको हो भने त्यस घटनामा मुस्लिमहरू कसरी माारिए ? झूटको पनि हद हुन्छ । बरु कश्मिरी मुस्लिमहरूले पर्यटकहरूलाई सक्दो सहयोग गरेको, पिठ्युँमा बोकेर पर्यटकहरूलाई सुरक्षित स्थानतर्फ लिएर गएको भिडियोहरू भाइरल भएका छन् । 


कश्मीरमा भएको यस घटनाबारे गम्भीर अनुसन्धान हुनु आवश्यक छ । यस घटनाको समय र प्रवृत्तिले यो कुनै विशेष आतङ्ककारी उद्देश्य प्राप्त गर्न सुनियोजित षड्यन्त्र हुन सक्ने संकेत गरिरहेको छ । यसबारे भारतीय विश्लेषकहरूले समेत प्रश्न उठाएका छन् । 


अर्कोतर्फ ती आतङ्कवादीविरुद्ध कारवाही गरिएको कुरा पनि समाचारमा आएको छ । अर्थात् उठाउनु पर्ने कदम पनि सम्बन्धित निकायले उठाएको छ । विश्लेषकहरूको शब्दमा त्यहाँ पर्यटकको सुरक्षा भारत सरकारले पहिल्यै सुनिश्चित गर्नुपथ्र्यो तर पर्यटकको घुईँचो लागेको ठाउँमा करिब आधा घण्टासम्म अप्रिय घटना भइरहँदा पनि सुरक्षा सन्यन्त्र पुगेको थिएन । आतङ्ककारीलाई उम्कने अवसर दिइयो । यो गुप्तचर निकायको विफलता हो ।


नेपाल सरकारले पनि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि भारत सरकारसँग संवाद गर्नुपर्छ र नेपाली नागरिकको सुरक्षाको जिम्मेवारी लिनुपर्छ । जवाफदेहिता नेपाल सरकारको हो न कि नेपाली मुसलमानहरूको । मुस्लिमविरुद्ध माहोल खडा गर्ने प्रयास गर्नु देशमा अशान्ति मच्चाउन खोज्नु हो र यसमा नेपाल सरकारको मौनता चाहिँ उसको कुटनीतिक विफलता लुकाउनु हो । राप्रपा प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाही गर्जिनुभयो मुसलमानहरूमाथि । उहाँले त्यति मात्र गर्नुभएन । उहाँले त नेपाली मुसलमानलाई दोस्रो दर्जाका नागरिक भएको भान पर्ने गरी बोल्नुभयो जस्तोको यहाँ मुसलमानहरू आप्रवासी हन् । सरकारले मुसलमानलाई यो दियो त्यो दियो । नागरिक अनुदानलाई मुसलमानलाई दिएको भन्नुको आशयलाई कसरी बुझ्ने ? यसले नपाउने चिज पायो र ? हज व्यवस्थापनमा नेपाल सरकारले गर्ने खर्च लाखमा हो, करोडमा पनि होइन । तर, उहाँले हज गर्ने सरकारले अरबौँ दिएको विषवमन गर्नुभयो । 


कश्मिर घटनापछि खास गरी तराई मधेशमा ठूला ठूला ब्यानर बनाई इस्लामी आतङ्कवाद मूर्दावादको नारा लगाई प्रदर्शनहरू भए र हुँदैछ । त्यस्तै ज्ञानेन्द्रबहादुर शाहीले कश्मिरको घटनालाई आधार बनाएर नेपालका मुस्लिम समुदायमाथि निराधार आरोप लगाउनु, उसको छवि बिगाड्ने गरी मिथ्या र अनर्गल प्रचार गर्नुलाई कसरी बुझ्ने ? नेपालका मुसलमानहरू नेपाली समाजका अविभाज्य अंग हुन् । उनीहरूलाई कठघरामा खडा गर्न खोज्नु राष्ट्रघात हो । एउटा अन्तराष्ट्रिय घटनाको सम्बन्धमा एउटा सांसदले संवैधानिक मुस्लिम आयोगसँग जवाफ माग्नु सरासर गलत र कानूनी अनभिज्ञताको नतिजा हो । अन्तराष्ट्रिय घटनाबारे परराष्ट्र मन्त्रालयले बोल्ने हो, कुनै संबैधानिक निकायले होइन । 


तर्क नै गर्ने हो भने के टिकापुर घटनाबारे थारु आयोगले विज्ञप्ति निकालेको थियो ? के म्यानमारमा भएको नरसंहारबारे नेपाली बौद्ध समाजले माफी माग्नुपर्ने हो ? गुजरातमा गर्भवती महिलाको बलात्कारपछि पेट चिरेर बच्चा निकाली त्रिशुलमा लटकाएको घटनाप्रति नेपाली हिन्दू समाजले जवाफ दिनुपर्ने हो ? भारतमा भएका मोब लिन्चिगंबारे नेपाली हिन्दू संघ संस्थाले क्षमा माग्नु पर्ने हो ? विदेशमा कुनै दलितले अपराध गर्दा नेपाल दलित आयोगले सफाइ दिनुपर्ने हो ?


धर्म, जात, भाषा वा क्षेत्रको आधारमा द्वेष फैलाउने काम बन्द गरौँ । धर्मको नाममा चाहे इस्लामको नाममा होस्, चाहे हिन्दूको नाममा वा अन्य कसैको नाममा, आतङ्क फैलाउने, आतंकित नाराहरू लगाउने मानवका शत्रु, देशद्रोही आतङ्कवादीसँग सचेत बसौँ, अरूलाई सचेत गराऔँ । शान्ति, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिऔँ ।


सरकारले पनि देशलाई विखण्डनतर्फ धकेल्ने र कट्टरपन्थ फैलाउने ज्ञानेन्द्र शाही लगायतका सबै उपद्रवी र आतङ्कवादी मानसिकताका व्यक्तिहरूमाथि कडा कारवाही होस् । असंवैधानिक रूपमा गठित समूह र अमूक सेनाहरूलाई तुरुन्तै विघटन गरियोस् । कुनै पनि धर्म विशेषका संवैधानिक संस्थाहरूमाथि अन्यायपूर्ण दबाब सिर्जना नगरियोस् । (लेखक इस्लामी संघ नेपालका अध्यक्ष हुन् ।ं)

प्रतिक्रिया

सम्बन्धित समाचार