माग पूरा नगरे असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा हुन्छ : सुनचाँदी व्यवसायी

Jasus Khabar 3942+ समाचार ( )
३१ जेठ २०८२

 आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट नहटाए असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन्।

शुक्रबार विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरू सीमावर्ती भारतीय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष ०८२/८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन्।

उनीहरूले अहिले सरकारले लिइरहेको सुन आयातमा १० प्रतिशत भन्सार र १० लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्। सरकारले विलासिता कर लगाएर नेपाली उपभोक्ताहरू माथि अनावश्यक कर थोपरेको मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास बेगबानीले बताए। 

सुनचाँदी व्यवसायीहरूले सरकारले सुन खरिदमा लगाएको कोटा प्रणालीका कारण पनि सुनचाँदी महंगिएको र सुन तस्करी बढेको समेत बताएका छन्। सुनचाँदी व्यवसायीहरूले अहिले आफूहरूले पसल बन्द गरेर विरोध प्रदर्शन मात्र गरिरहेको र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया