सुनसरी–४ बाट महाधिवेशन प्रतिनिधिमा शंकर कुमार बस्नेतको उम्मेदवारी

Jasus Khabar 3965+ समाचार ( )
९ अशोज २०८३

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा शंकर कुमार बस्नेतले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

किशोर तथा युवा अवस्थादेखि नै नेपाली कांग्रेसको चारतारे रुख अंकित झण्डा बोकेर संगठन निर्माण र पार्टीको पक्षमा सक्रिय रहँदै आएका बस्नेतले चक्रघट्टी, प्रकाशपुर, मधुवन, इनरुवा, सिङ्गिया, लौकही, भुटाहा, श्रीपुर, हरिपुर, हरिनगर र बसन्तपुरलगायतका क्षेत्रमा संगठन विस्तारमा भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।

निर्दलीय व्यवस्थाको समयमा प्रतिबन्धका बाबजुद कांग्रेसको सदस्यता लिएका बस्नेत माओवादी द्वन्द्वको १० वर्षे अवधिमा समेत पार्टी संगठनमा सक्रिय रहँदै आएका थिए।

नेपाल तरुण दल तत्कालीन महेन्द्रनगर गाविसको सदस्य, उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हालेका उनले १२औँ महाधिवेशनमा तत्कालीन महेन्द्रनगर गाउँ इकाइ सभापति तथा १३औँ महाधिवेशनमा नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्यका रूपमा काम गरेका थिए।

दीर्घ राजनीतिक तथा सांगठनिक अनुभवका आधारमा आफूले केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएको बस्नेतले बताएका छन्।

प्रतिक्रिया