सुनसरी । सुनसरीको कोशी गाउँपालिका-५ स्थित कुम्याहीमा भारतबाट तस्करी गरी ल्याइएको चिकेन मासु तथा अन्य सामान नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय लौकहीका सइ प्रवीण भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी तानिएको छ।
करिब एक महिनाअघि मात्रै लौकहीको जिम्मेवारी सम्हालेका भट्टराईलाई नियन्त्रण कारबाहीपछि जिल्ला तानिएसँगै सरुवालाई लिएर प्रश्न उठेको छ।
१ हजार किलोग्राम भन्दा बढी मासु तथा तस्करीका सामान नियन्त्रणमा लिएकै कारण केन्द्र तहको दबाबमा सरुवा गरिएको स्थानीयको आरोप छ। उनीहरूले सत्ता पक्षसँग निकट व्यक्तिको राजनीतिक पहुँचका कारण तस्करी रोक्ने प्रहरीमाथि कारबाही भएको दाबी गरेका छन्।>
यता, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्पराज मल्ल र कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी शेखर खनालसमेत यस विषयमा असन्तुष्ट रहेको चर्चा छ। तर, डिएसपी चन्द्रबहादुर खड्काले भने भट्टराईको सरुवा नियमित प्रक्रियाअन्तर्गत भएको बताएका छन्।>
घटनापछि ‘बरामद गरिएको मासु कसको हो?’ भन्ने प्रश्नसमेत उठेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि बरामद मासु तथा तस्करीमा संलग्न भनिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन।>
तस्करी नियन्त्रण गर्ने प्रहरीलाई नै जिल्ला तानिएपछि स्थानीयले ‘तस्करी रोक्ने कि संरक्षण गर्ने?’ भन्दै प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएका छन्। सत्ता र पहुँचको आडमा तस्करी भइरहेको हो भने त्यसको निष्पक्ष छानबिन र तथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।>>