भन्सार कार्यालय कञ्चनपुरले भैँसी, खसी र बाख्रा हकदाबी गर्न आउन सूचना निकालेको छ । इलाका प्रहरी कार्यालय र सीमा सुरक्षा बलले जेठ महिनामा नेपाल भारत सीमाबाट नियन्त्रणमा लिई भन्सारलाई बुझाएका भैँसी, पाडा, खसी र बाख्राको निर्धारण गरिएको मूल्यसहित सप्रमाण उपस्थित हुन १५ दिनको समय दिएर असार १ गते जिल्ला भन्सार कार्यालय कञ्चनपुरले सो सूचना निकालेको हो ।>
खसी प्रतिगोटा ३० हजार, भैँसी प्रतिगोटा ४० हजार र ठूला बाख्राको १३ हजार र साना बाख्राको १० हजार मूल्य भन्सारले निर्धारण गरेको छ । यसैगरी पाडाको प्रतिगोटा १० हजार कायम गरी भन्सारले सूचना निकालेको हो । दैनिक उपभोग गर्ने सामान चिनी, चामल, खाद्यान्नसहित आइफोन, मोटरसाइकल, कपडा, गुट्खा, अटो रिक्सासहितका सामानहरू दाबी गर्न आउन सूचना निकालेको छ । जेठ ११ देखि २६ गते सम्म नियन्त्रणमा लिएका यस्ता सामानहरूको कुल मूल्य ३९ लाख ३३ हजार ३६ रहेको छ ।>
यसैगरी भन्सार कार्यालय गौर रौतहटले पनि जेठ महिनाभरि नियन्त्रणमा लिएका सामानहरूको हकदाबी गर्न आउने सूचना जारी गरेको छ । असार १ गते जारी गरिएको यो सूचनाको पनि १५ दिन अवधि तोकिएको छ । १५ दिनभित्र सप्रमाण हकदाबी गर्न नआए र निर्धारण गरिएको मूल्य नतोकेको खण्डमा कानुनबमोजिम हुने सूचनामा लेखिएको छ । नियमित भान्सामा प्रयोग हुने सामानदेखि लत्ताकपडा लगायतका सामानहरूको ३७ लाख एक हजार ३ सय ५५ मूल्य निर्धारण गरिएको छ ।>>