सुनसरी । कोशी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ पकली सुनसरी र हरिनगर गाउँपालिकाको संयुक्त आयोजनामा "२४ औँ सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव–२०८२" को अवसरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविर तथा विशेष कार्यक्रम मंगलवार सम्पन्न भएको छ। हरिनगर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीको कार्यालय भवनमा सम्पन्न भएको हो ।>
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका राज्यमन्त्री सिर्जना राईले स्वास्थ्य सेवा पहुँचमा सशस्त्र प्रहरी परिवार महिला संघले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ । वहाँले कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा यस किसिमका शिविर र कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउनुभयो ।>
>
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्युपानेले सशस्त्र प्रहरी परिवार महिला संघ र सुरक्षाकर्मी परिवारबीचको सहकार्यलाई थप सुदृढ गर्दै समुदायमै सेवा प्रवाह गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले मानव जीवनको सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य भएको उल्लेख गर्नुभयो। “स्वस्थ जीवन बिना सुख र समृद्धिको कल्पना गर्न सकिन्न, त्यसैले समाज र सुरक्षाकर्मी परिवारलाई लक्षित यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन्,” न्युपानेले भन्नुभयो।>
>
त्यस्तै, हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगतले समुदायको स्वास्थ्यका लागि गाउँपालिकाले प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रलाई ध्यान दिइरहेको उल्लेख गर्दै यस्तो सहयोग र सहकार्यले ग्रामीण बासिन्दाले सहज सेवा पाएको बताउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले हामीले सहकार्यमा गरेको कार्यक्रमले गाउँपालिकालाई समेत मार्गदर्शन दिएको बताउनुभयो ।>
>
कार्यक्रममा कोशी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी सचिव जानुका ढकाल भट्टराई, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका प्रमुख बिमल घिमिरे, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो।>
>
कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण, सामान्य रोगको उपचार, महिलासम्बन्धी स्वास्थ्य परामर्श लगायत सेवा प्रदान गरिएको थियो।>
>
>