अजमल अन्सारी> सुनसरी । सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्षको बैशाख सम्ममा ३८ करोड बढी राजस्व संकलन गरेको छ ।>
आर्थिक वर्ष २०८१/८२ को बैशाखसम्म कुल रु ३८ करोड ७३ लाख ८६ हजार ६५६ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राधेश्याम दाहालले जानकारी दिनुभयो ।>
>
यस आवको दस महिनामा पाँच महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए ।>
>
भन्सारबाट हाल संकलन भएको राजस्व लक्ष्यको ८०.६६ प्रतिशतमात्र हो । आवको सुरु १ महिना साउनमा लक्ष्यको ६७.१२ प्रतिशत अर्थात् रु २ करोड ४१ लाख ५२ हजार १९१ संकलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ५५.७२ प्रतिशत अर्थात् रु २ करोड २० लाख ४२ हजार ४४७ मात्र राजस्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।>
>
यस्तै असोजमा लक्ष्यको ९२.३८ प्रतिशत अर्थात् रु ३ करोड ७ लाख ९८ हजार ३६२ राजस्व संकलन भएको छ भने कात्तिकमा अहिले सम्मकै धेरै १५२.८१ प्रतिशत रु पाँच करोड ७० लाख ७५ हजार ४८५, मङ्सिरमा १०५.९१ प्रतिशत रु ४ करोड ८२ लाख ७० हजार ४०४, पुसमा ९८.८६ प्रतिशत अर्थात् रु ४ करोड ४० लाख ९५ हजार ७१४ संकलन भएको कार्यालयले जनाएको छ ।>
>
कार्यालयको तथ्याङ्कानुसार माघमा लक्ष्यको ८५.८५ प्रतिशत अर्थात् रु ३ करोड ५९ लाख २८ हजार ५९१, फागुनमा १०४.२५ प्रतिशत अर्थात् रु चार करोड २१ लाख ४ हजार ५६७, चैतमा लक्ष्यको १०२.३२ प्रतिशत अर्थात् रु ४ करोड २३ लाख ९७ हजार ७२ र बैशाखमा लक्ष्यको १०३.४२ प्रतिशत अर्थात् रु ४ करोड ५ लाख २१ हजार ८२१ राजस्व संकलन भएको भन्सार कार्यालय सुनसरीले जनाएको छ ।>
>
चालु आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलनमा ४८ करोड २ लाख ५४ हजार लक्ष्य रहेको जनाएको छ । हालसम्ममा कार्यालयले ८०.६६ प्रतिशत लक्ष्य प्राप्त गरेको र चालु आर्थिक वर्षको अन्तिमसम्ममा लक्ष्य पूरा गर्ने विश्वास लिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।>
>
भन्सार कार्यालय प्रमुख दाहालका अनुसार आगामी महिनाहरूमा राजस्व संकलनलाई अझ प्रभावकारी बनाउन नीतिगत सुधार र नाका व्यवस्थापनलाई सशक्त बनाउने तयारी भइरहेको बताउनुभयो ।>
>
गत आर्थिक वर्षको तुलनामा केही महिनामा सकारात्मक प्रगति देखिए पनि समग्र राजस्व लक्ष्यमा अपेक्षाकृत वृद्धि नहुनु चिन्ताको विषय बनेको छ। सुनसरी भन्सार कार्यालय प्रमुख भन्सार नाका भएकाले पूर्वी नेपाल तथा कोशी प्रदेशको आर्थिक गतिविधिमा यस कार्यालयको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।>
>
गत आर्थिक वर्ष २०८०/८१ राजस्व संकलनमा रु १ अर्ब १७ करोड ४३ लाख ७३ हजार लक्ष्य लिएको थियो । गत वर्ष लक्ष्यको ३०.९६ प्रतिशत अर्थात् रु ४१ करोड ५ लाख १७ हजार मात्रै राजस्व संकलन भएको थियोे ।>
>
भन्सार कार्यालय सुनसरीले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ ।>
>