सुनसरीको सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी मौलाउँदै, प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न

Jasus Khabar 3958+ समाचार ( )
२५ वैशाख २०८३

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले सुनसरीको सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध कारोबार मौलाउँदै गएको भन्दै सरकार तथा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले कोशी ब्यारेजदेखि हरिनगरसम्मको सीमा नाकाबाट रातभर लागूऔषध नेपाल भित्रिने र खुलेआम बिक्रीवितरण हुने गुनासो आएको उल्लेख गरेका छन् ।

साम्पाङले फेसबुकमा लेखेका छन्, “कोशी ब्यारेजदेखि हरिनगरसम्मको नाकाबाट लागूऔषध रातभर छिरेर बिक्रीवितरण हुन्छ भन्ने आयो । सरकार कता हो ? छ भने काम गर्नु है !”

उनको अभिव्यक्तिसँगै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेको नेपाल प्रहरी तथा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ ।

सीमावर्ती क्षेत्रबाट रातभर लागूऔषध भित्रिने अवस्था रहेको आरोप आइरहँदा सुरक्षा निगरानी कमजोर भएको हो कि भन्ने आशंका स्थानीयवासीले गर्न थालेका छन् ।

विशेषगरी भारतसँग जोडिएका सुनसरीका विभिन्न नाकामा लागूऔषध ओसारपसार, तस्करी तथा अवैध कारोबार बढ्दै गएको गुनासो बेला–बेला सार्वजनिक हुँदै आएको छ । तर नियन्त्रणका लागि खटिएका निकायले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना बढिरहेको छ ।

स्थानीयवासीले सीमा क्षेत्रमा कडाइ, नियमित निगरानी, संयुक्त गस्ती तथा लागूऔषध कारोबारीमाथि कठोर कारबाहीको माग गरेका छन् । युवापुस्तामा बढ्दो लागूऔषध दुर्व्यसनले सामाजिक विकृति बढिरहेको भन्दै सरोकारवालाले तत्काल प्रभावकारी नियन्त्रण अभियान आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया