निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन घोर अपराध: शेखर कोइराला

Jasus Khabar 3942+ समाचार ( )
१७ आषाढ २०८२

कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तनलाई घोर अपराध भन्दै प्रतिक्रिया जनाएका छन्।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत यसलाई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति अपमान भएको आरोप लगाएका हुन्।

‘निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन एक सामान्य घटना होइन। यो हाम्रो देश र संसदको अपमान हो,’डा. कोइरालाले आफ्नो भनाइमा जोड दिएका छन्।

उनले थपे,’यस प्रक्रियामा जोडिएका व्यक्तिहरूलाई तुरुन्त हदैसम्मको कारवाही गर्नुपर्छ र परिवर्तन गरिएको व्यवस्थालाई पुरानै अवस्थामा फर्काउनुपर्छ।’

डा. कोइरालाले विधेयकका सबै सम्बन्धित प्रक्रियाहरू पूरा नगरी कुनै पनि काम अगाडि बढाउनु ठीक नहुने उल्लेख गर्दै, ‘कुलिङ पिरियड बिना यस विधेयकको काम अगाडि बढ्नु हुँदैन र यसलाई अब अघि बढ्न दिइनु हुँदैन,’ भनेका छन्।

यस विषयमा संसदमा थप छलफलको आवश्यकता रहेको भन्दै, उनले विधेयकको सबै प्रक्रियाहरू सही ढंगले र पारदर्शी रुपमा सम्पन्न गरिनु पर्नेमा जोड दिएका छन्।

यो घटनाले संसदको कार्यप्रणाली र विधायिका प्रति विश्वासलाई कडाइका साथ चुनौती दिएको छ।

यस विषयको कांग्रेसकै सांसद् चन्द्र भण्डारीले पनि विरोध गरेका छन्। उनले त्यसमा छलछाम, ढाँट, किर्ते र स्वार्थपूर्ति प्रयास गरिएको भन्दै मुलुककै नैतिक धरातल हल्लिएको टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया