खोटाङको साकेला गाउँपालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पालिकाको सार्वजनिक स्थानहरूमा बिरुवा रोप्ने अभियान सुरु गरेको छ। सिंगो साकेला गाउँपालिकालाई वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको पालिका अध्यक्ष रविप्रकास राईले बताए। >
पालिकालाई वातावरण मैत्री बनाउनका लागि यहाँका सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरू र सार्वजनिक पाटीपौवा लगायतका स्थानमा बोट बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको बताए। उनले तोकिएको स्थानमा ज्याकाराण्डा, कल्की, धूपी, क्रिसमस ट्रि, अशोक, लालीगुराँस प्रजातिका एकहजार भन्दा बढी बिरुवाहरू वितरण गरिएको बताए।>
त्यस्तै पाटीपौवाहरूमा बर पिपलका बिरुवा रोप्ने र खानेपानीको मुहान संरक्षण गर्न रैथाने बिरुवा रोपेर स्वच्छ वातावरण निर्माण अभियान थालिएको पनि अध्यक्ष राईले बताए। पालिका उपाध्यक्ष बिर्सिका राईले सार्वजनिक स्थानमा बिरुवा रोप्ने अभियानले जलवायु परिवर्तन न्यूनीकरण गर्न सहयोग पुर्याउनुका साथै मानव स्वास्थ्यमा स्वच्छ हावापानी प्राप्त गरि स्वास्थ्य रहन मद्दत पुर्याउने बताइन्। >
>
उनले पहिलो चरणमा एक हजार बिरुवा वितरण गरिएको र अन्य ३ हजार बिरुवा वितरणका लागि तयार पारिएको जानकारी दिएकी छिन। सार्वजनिक स्थानलाई हरियाली बनाएपश्चात् पालिकाका प्रत्येक घरधुरीमा समेत बिरुवा वितरण गरि पालिकालाई नै हरियाली बनाइने अध्यक्ष राईको भनाइ छ। >>