अजमल अन्सारी
>
सुनसरी । लागू औषध तथा तस्करी विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा इनरुवामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश र स्थानीय नेतृत्वदायी निकायले प्रहरीको सक्रियता र समाजको जागरूकतालाई जोड दिएका छन्।>
जिल्ला प्रहरी कार्यालय सुनसरी र FAN जिल्ला कार्य सम्पादन समिति सुनसरीको संयुक्त आयोजनामा बिहीवार इनरुवा नगरपालिका–३ स्थित ओम साइराम पार्टी प्यालेसमा ‘लागू औषध दुव्र्यसन नियन्त्रणमा प्रहरी र समाजको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो।>
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागू औषध दुव्र्यसन देशकै ठूलो चुनौती बन्दै गएको उल्लेख गर्दै प्रहरी मात्रले नभई समाजले पनि यो विरुद्ध ऐक्यबद्ध भई जागरूकता अभिवृद्धि गर्नु पर्ने बताए। उनले भने, “आजको पुस्ता लागू औषधको कुलतमा फस्दै जानु अत्यन्त दुखद विषय हो। यसको नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी होइन, आम समाजको पनि साझा दायित्व हो।”>
सो अवसरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रदेशस्तरीय ऐक्यबद्धता अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । उनले भने, “यसलाई कानुनी रुपमा मात्र होइन, सामाजिक र सांस्कृतिक चेतनाको हिस्सा बनाउनुपर्छ।">
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले लागू औषध विरुद्धको अपरेशनमा प्रहरी निरन्तर खटिएको उल्लेख गर्दै हालसम्म जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागू औषध बरामद गरिएको जानकारी दिए। उनले भने, “समाजको सक्रिय साथबिना मात्र प्रहरीले यो अपराध नियन्त्रण गर्न सक्दैन।”>
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनले लागुऔषध कारोबार नियन्त्रणमा जिल्लामा विशेष अपरेशन र निगरानी बढाइएको बताउँदै आम नागरिक र युवा स्वयं सेवकलाई पनि अभियानमा जोडिने रणनीति सुनाए। जिल्लालाई लागू औषध मुक्त बनाउन स्थानीय तह, समाज र राज्य संयन्त्र एक ठाउँमा उभिन जरुरी रहेको धारणा राखे। सिमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार रोक्न प्रहरीको कडा निगरानी रहेको बताए।>
इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले भने, “सधैं भाषण गरेर मात्र हुँदैन, लागू औषध नियन्त्रणका लागि प्रत्यक्ष व्यवहारिक कार्यक्रम र विकासात्मक योजना अघि बढाउन जरुरी छ। कार्यक्रमका लागि कति बजेट छुट्याइएको छ, त्यो सार्वजनिक हुनुपर्छ। अनि यो कार्यक्रम जनताको घर–घरमा पुगेको छ कि छैन, त्यसको मूल्यांकन गर्नुपर्छ। खाली मञ्चमा भाषण गरेर समस्या सुल्झिँदैन।">
जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले जिल्लाभर सशक्त समन्वय नगरेसम्म समस्या समाधान नहुने भन्दै सबै स्थानीय तहको सहकार्यमा जिल्लास्तरीय कार्यक्रम गर्नुपर्ने बताए । उनले गाउँ तहसम्म समेत लागुऔषधको असर पुग्न थालेकोमा चिन्ता व्यक्त गर्दै जनप्रतिनिधिले समेत प्रतिवद्धता जनाउनुपर्ने बताए। गाउँमा लागुऔषध नियन्त्रणका लागि सामाजिक संस्था, प्रहरी र वडा स्तरसम्म निगरानी समिति गठनको आवश्यकता औँल्याएका छन्।>
कार्यक्रममा प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मिया, स्थानीय नेताहरु, प्रहरी अधिकृतहरु, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी, मिडिया प्रतिनिधि र सरोकारवाला निकायको उपस्थिति रहेको थियो।>>