भोक्राहा नरसिंह गाउँपालिकामा ‘पेश्की महोत्सव’ : जनप्रतिनिधि र कर्मचारीले गरे करोडौं हजम

Jasus Khabar 3958+ समाचार ( )
१० आषाढ २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय तह सञ्चालन ऐन २०७४ र आर्थिक ऐन विपरित जनप्रतिनिधिहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर लाखौ पेश्की लेखिएको फेला परेको छ ।


गाउँपालिकाका जनप्रतिनिधिहरुले लिएको पेश्की भाकाभित्र फर्छौट नगरी असुल गर्नु पर्ने पेश्कीका रुपमा महालेखा परिक्षकको कार्यालयले आर्थिक २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदनमा असुल फर्छौट गर्नु पर्ने भनि उल्लेख गरेको छ ।


पेश्की खाएर बस्ने उपाध्यक्ष उराँव


प्रतिवेदन अनुसार गाउँपालिकाकी उपाध्यक्ष सुनिताकुमारी उराँवले एउटै मितिमा न्यायिक समिति तथा मेलमिलाप केन्द्र अवलोकन कार्यका नाममा ३ लाख, मेल मिलाप केन्द्र पुर्नताजगी तालिमका नाममा ३ लाख र धार्मिक तथा सांस्कृतिक संस्था सहायता शिर्षकमा १ लाख, जातिगत परम्परागत तथा सांस्कृतिक प्रर्वद्धन तथा संरक्षण शिर्षकमा ४ लाख गरी ११ लाख रुपैया पेश्की लिएर खर्च गरेको रकम महालेखाले नियमअनुसार असुल फर्छौट गर्न भनेको छ ।


वडाध्यक्ष आलमको पेश्की पसल


त्यसैगरी वडा-२ का वडाध्यक्ष आलम अन्सारी मियाँले विविध खर्च शिर्षकमा १ लाख ८० हजार, कोशी युवा क्लबका लागि जिम सामान वितरण शिर्षकमा २ लाख, सोही शिर्षकमा थप १ लाख, माहद मदरसाका विद्यार्थीहरुको लागि कपडा खरिद शिर्षकमा २ लाख ७० हजार, संघर्ष युवा क्लबका लागि ५० हजार, विपन्न असल सहयोग समाजका लागि ४० हजार, पशुपति युवा क्लबका लागि ४५ हजार, पेश्की लिएर खर्च गरेका छन । आलमले लिएको उक्त पेश्की म्याद नाघेको रकम भएकोले असुल फर्छौट गर्न महालेखाले निर्देशन दिएको छ ।


वडा ५ का हबिबको बजेट तानाबाना


त्यस्तै वडा-५ का वडाध्यक्ष हबिब मन्सुरीले अन्य कार्यालय सञ्चालन खर्च शिर्षकमा ७५ हजार, पानी तथा विजुली शिर्षकमा १ लाख, इन्धनको लागि ४० हजार, भ्रमण खर्च तथा बैठक शिर्षकमा ५० हजार, विविध खर्च शिर्षकमा ३५ हजार, सवारी साधन मर्मत खर्च शिर्षकमा ५० हजार पेश्की लिएर खर्च गरेका छन । हविबले लिएको उक्त पेश्की म्याद नाघेको रकम भएकोले असुल फर्छौट गर्न महालेखाले निर्देशन दिएको छ ।


वडा ३ का धिरेन्द्रकुमार यादवको ‘बाटो मर्मत’ काण्ड


त्यसैगरी वडा- ३ का वडाध्यक्ष धिरेन्द्रकुमार यादवले वडाभित्र बाटो तथा विभिन्न संरचना मर्मत शिर्षकमा २ लाख रुपैया पेश्की लिएर खर्च गरेका छन । उक्त रकम समेत महालेखाले असुल फर्छौट गर्न निर्देशन दिएको छ ।


आर्थिक प्रशासन र जवाफदेहिताका लागि जनप्रतिनिधिहरुले कुनै पनि आर्थिक कारोवार गर्न र आफै रकम पेश्की लिएर खर्च गर्न नपाउने गरी आर्थिक ऐनले रोक लगाएता पनि भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुले लिएको पेश्की आर्थिक ऐनले बर्जित गरेको कार्य विपरित हो ।


कर्मचारी पनि पछि छैनन्


त्यसैगरी कर्मचारीहरुले नियमअनुसार लिएको पेश्की समेत समयभित्र खर्च गरी फर्छौट नगरेको हुँदा महालेखाले असुल फर्छौट गर्नु भनि निर्देशन दिएको छ ।


जसमा जनस्वास्थ्य निरिक्षक रामाशंकरप्रसाद साहले अन्य कार्यालय सञ्चालन खर्च बापत १ लाख, जनस्वास्थ्य निरीक्षक हिरालाल साहले प्रकोप तथा डेंगो रोग नियन्त्रण खर्च बापत ४ लाख, हेल्थ अशिष्टेन्ट देबसुन्दर मेहताले अन्य भत्ता बापत १ लाख, कृषि अधिकृत विवेक यादवले उत्पादन सामग्री/सेवा खर्च बापत १ लाख ८ सय लिएर फर्छौट नगरेको देखिएको छ ।संस्थागत बेरुजु पनि त्यती नै संस्थागत पेश्की लिएर सोको खर्च फर्छौट नगरी अनियमित खर्च गरेको पाइएको छ ।


संस्थागत बेरुजु त झन् करोडौं


भोक्राहा नरसिंह गाउँपालिकाले सोझै नेपाल विद्युत प्राधिकरण इनरुवालाई विद्युत संरचना निर्माण गर्न २७ लाख ५० हजार, पानी तथा विजुली शिर्षकमा दुई पटक गरेर ४ लाख ३२ हजार पाँच सय २९ रुपैया पेश्की दिएको छ । विद्युत प्राधिकरण खानेपानीको शुल्क उठाउने संस्था नभएकोले पालिकाले आर्थिक परिचालनमा मनपरी गर्ने गरेको स्पष्ट हुन्छ ।


हिराचन÷ए.एम÷एच.एम.जे.भीलाई सडक तथा पुल निर्माणका लागि तीन लाख, सपना÷आरके जेभी सडक तथा पुल निर्माणका लागि ५६ लाख, शिवशक्ति सामुदायिक सिकाई केन्द्रलाई शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा बैकल्पिक शिक्षाका लागि २ लाख ५० हजार, सुनौलो विहानी सामुदायिक सिकाई केन्द्रलाई पनि सोही शिर्षकमा २ लाख ५० हजार, जल्पापुर मुस्लिम निर्माण सेवालाई विद्यालय भवन निर्माणका लागि दिएको १० लाख ४० हजार, पुष्पाञ्जली÷जोया एण्ड ब्रर्दश जेभीलाई गैर अवासीय भवन निर्माण÷खरिदका लागि १० लाख, सियाराम कन्ट्रक्सन एण्ड सप्लायर्सलाई कालोपत्रे सडक निर्माणका लागि चार वटा ठाँउको लागि ३३ लाख ६० हजार, ठामपचे मोरङ जेभीलाई कालोपत्रे सडक, पुँजीगत सुधार खर्च, सवारी साधन खर्च, कृषिका लागि सिचाई एवम विद्युत विस्तार खर्चका नाममा १ करोड २५ लाख ९२ हजार २२२ रुपैया, एचएम समिक्षा देवीलाई समपुरक कोषको साझेदारी कार्यक्रम वापतको खर्च शिर्षकमा एक कराेड ९८ लाख २६ हजार ७३२ रुपैया समयसीमा भित्र लिएको पेश्की फर्छौट नगरेकोले असुल गर्न महालेखाले निर्देशन दिएको छ ।


आर्थिक शुद्धता र जवाफदेहितामा गम्भीर प्रश्न


भोक्राहा नरसिंह गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले मनपरी रूपमा आर्थिक कारोवार गर्दै पेश्की लिने, म्याद नाघिसकेको वर्षौंसम्म फर्छौट नगर्ने प्रवृत्ति देखिएको छ। आर्थिक ऐनले प्रतिबन्धित कार्य विपरीत गरिएको यस्ता आर्थिक चलखेलले स्थानीय तहमा आर्थिक अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार