सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ की १४ वर्षीया एक बालिकामाथि २० पुस २०८१ मा ३५ वर्षीय युवकले जबर्जस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पर्यो । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थाल्यो ।>
प्रहरीको अनुसन्धानले दोषी देखाएपछि जिल्ला अदालत सुर्खेतले पिडकलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दियो । उनी हाल कारागार कार्यालय सुर्खेतमा बन्दी जीवन बिताइरहेका छन् । यस्तै, माथि उल्लेखित घटनाको अघिल्लो दिन वीरेन्द्रनगर–३ का अर्का ३० वर्षीय युवकले १८ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरे । घटना घटेको दुई दिनपछि पीडितले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ती युवकविरुद्ध किटानी जाहेरी दर्ता गरिन् । पीडित बालिकाले जाहेरी दिएको थाहा पाएपछि आरोपित हाल फरार छन् । >
३ फागुन २०८१ मा वीरेन्द्रनगर नगरपालिका–८ का २५ वर्षीय युवकले १५ वर्षीया बालिकामाथि करणी गरेको उजुरी प्रहरीसमक्ष पुग्यो । प्रहरी अनुसन्धानबाट दोषी ठहरिएका ती युवकलाई पनि जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । १ फागुन २०८१ मा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गर्यो । बालिकाकी आमाले प्रहरीमा दर्ता गराएको जाहेरीका आधारमा बालकलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतमा बुझायो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुर्खेतमा दर्ता गराएको मुद्दामा बालकलाई बाल सुधारगृह बाँकेमा पठाउने आदेश दिएको थियो ।>
उल्लेखित घटना सुर्खेतमा ६ महिनाको अवधिमा बालिकामाथि भएका जबर्जस्ती करणीका उदाहरण हुन् । यो अवधिमा बालिका मात्रै होइनन, महिला पनि जबर्जस्ती करणीको सिकार बनेका छन् । सुर्खेतमा पछिल्लो ६ महिनाको अवधिमा ३१ महिला तथा बालिका बलात्कारको सिकार भएको तथ्यांकले देखाउँछ । नेपालको प्रचलित कानुनअनुसार जबर्जस्ती करणी गर्नेलाई कडा कानुनी सजायको व्यवस्था छ । फौजदारी अपराध संहिता- २०७४ अनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई २० वर्षसम्म कैद हुने व्यवस्था छ । तर, परिवार तथा समाजमा कानुनी साक्षरता तथा चेतनाको अभावले बलात्कार जस्तो जघन्य अपराधले प्रसय पाइरहेको छ ।>
मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सार्वजनिक २०८१ पुदेखि २०८२ असारसम्मको मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको अभिलेखमा १५ महिला र १६ बालिका बलात्कार जस्तो जघन्य अपराधको सिकार बनेको उल्लेख छ । >
इन्सेकले उपलब्ध गराएको तथ्यांकमा महिला र बालअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको देखिन्छ । यो अवधिमा सुर्खेतमा कुल एक सय ५१ मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना घटेका छन् । यी घटनामध्ये राज्य पक्षबाट तीनवटा कुटपिट तथा गिरफ्तारसँग सम्बन्धित छन् भने १४८ घटना गैरराज्यपक्षबाट बालविवाह, कुटपिट, बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार र घरेलु हिंसासँग सम्बन्धित छन् । जसमा २१ बालअधिकार र १२४ महिला अधिकार हननका घटना इन्सेकमा अभिलेख भएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए ।>
संयोजक सुवेदीका अनुसार बालअधिकार उल्लंघनका घटनाअन्तर्गत बालबिवाह १, कुटपिट १, बलात्कार १६ र यौन दुर्व्यवहारका दुई घटना जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका छन् । यस्तै, अमानवीय व्यवहार, जातीय विभेद र धम्कीसँग सम्बन्धित तीन मुद्दा सुर्खेत प्रहरीमा पुगेका छन् । महिला अधिकारसँग सम्बन्धित घरेलु हिंसाका १०८, १५ महिलामाथि बलात्कार र एक महिलामाथि बलात्कार प्रयास भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । >
संयोजक सुवेदीले समाजमा पछि पारिएका समुदायका महिला तथा बालबालिका बलात्कार, यौन तथा घरेलु हिंसाको सिकार बन्ने क्रम बढेको बताए । इन्सेकले महिला तथा बालबालिकाको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आएको बताउँदै सुवेदीले सरकार तथा अन्य पक्षले सञ्चालन गर्ने कार्यक्रम महिला तथा बालबालिकाको क्षेत्रमा केन्द्रित गराउन नसकिए हिंसाको ग्राफमा कमी नआउने बताए ।>
समाजमा कानुनी सचेतनाको अभाव, समाजमा बेइजत हुने डर र जघन्य अपराधलाई पनि समाजले सहज स्वीकार्ने प्रवृत्तिलगायतका कारणले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यायिक निकायसमक्ष बिरलै आउने गरेको उनले बताए । सामाजिक सद्भाव खलल हुने घटनामा कमी ल्याउन तीनै तहका सरकारले कानुनी साक्षरताको पाटोलाई परिवार, विद्यालय हुँदै समुदायस्तरमा लैजान ढिलाइ भइरहेको सुवेदीले बताए ।>
>>