संरक्षणको पर्खाइमा यार्सागुम्बा

Jasus Khabar 3942+ समाचार ( )
७ वैशाख २०८२

कुनै पनि देशको चौतर्फी विकासका लागि विपुल सम्भावनाको व्यावहारिक उपयोग गर्न नितान्त आवश्यक छ। यस सन्दर्भमा वनस्पति पनि महत्वपूर्ण सम्भावना भएको एक क्षेत्र हो। यसको के–कति महत्व छ भन्ने कुरा यार्सागुम्बाको उच्च बजार, मूल्य र भागबाट प्रष्ट हुन्छ। नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। यहाँ विभिन्न किसिमका जडीबुटीहरू पाइन्छन्, जसमध्ये यार्सागुम्बा पनि एक हो। यसलाई छोटकरीमा यार्सा भनिन्छ, जसको स्वरूप आधा वनस्पति र आधा कीरा जस्तो हुन्छ। यो जाडोमा कीरा र गर्मीमा घाँस बन्छ। त्यसैले यसलाई एक अनौठो प्रजातिको मिश्रित जीव मानिन्छ|

झन्डै दुई शताब्दीअघि चीनको तियान भन्ने व्यक्तिले यार्सागुम्बालाई सर्वप्रथम एक शक्तिवद्र्धक जडीबुटीको रूपमा प्रमाणित गरेका थिए। त्यसपछि विश्वका केही देशमा यसको सेवन विस्तारै बढ्न थाल्यो। केही वर्षपछि यसलाई एक महंगो जडिबुटीको रूपमा मान्न थालियो।

विशेषतः यार्सागुम्बाको खास बजार हङकङ र ताइवान हो। तर हाल सिंगापुर र तिब्बतमा पनि यसको व्यापार बढ्न थालेको छ।

यार्सागुम्बाको माग विश्वभरि नै दिनदिनै बढिरहेको छ। यो विशेषतः नेपाल, भुटान र चीनको केही प्रान्तहरूमा पाइन्छ।

यो नेपालको हिमाल र पहाडी जिल्लाहरूको ठण्डा ठाउँ र लेकमा पाइन्छ। यो खास गरी जुम्ला, मुगु र डोल्पा, मुस्ताङ, म्याग्दी, दार्चुला, बझाङ, रसुवा, गोर्खा, रुकुम र लमजुङ जिल्लामा पाइने हुनाले यी जिल्लाहरूमा प्रत्येक वर्ष हजारौं व्यक्ति यार्सागुम्बा संकलनका लागि जम्मा हुन्छन्। केही दशकयता यो जडीबुटी स्थानीय व्यक्तिहरूका लागि मात्र नभई यसको व्यापार गर्ने व्यक्तिहरूका लागि पनि एक भरपर्दो आयस्रोत भएको छ।

साधारणतः नेपालमा यार्सागुम्बा वैशाखदेखि साउन महिनासम्म संकलन गरिन्छ। परन्तु, यो काम सोचेअनुरूप सहज छैन। एकतर्फ यसको पहिचान गर्न सजिलो छैन भन्ने अर्कोतर्फ एक किलो यार्सागुम्बा जम्मा गर्नु सात–आठ व्यक्तिलाई सरदर एक महिना लाग्छ। यसका लागि धेरै परिश्रम र धैर्य चाहिन्छ। जुन धेरै व्यक्तिहरूमा कमी छ।

नेपाल एक अति कम विकसित राष्ट्र भएकाले यहाँका हिमाली र पहाडी जिल्लाहरूमा गरिबी जताततै व्याप्त छ। सरकारले गरिबी न्यूनीकरणका लागि केही प्रयास गरे पनि आजसम्म पनि यहाँका जनतालाई जीविकोपार्जन गर्न कठिन छ। यसै सन्दर्भमा यार्सागुम्बा संकलनले यहाँका जनतालाई जीविकोपार्जन गर्न केही सघाउ प्रदान गरेको छ।

केही वर्षयता यहाँको हिमाली तथा पहाडी जिल्लाहरूमा प्राथमिक तथा माध्यमिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा संकलनमा संलग्न हुन थालेका छन्। फलतः यी जिल्लाहरूमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसबारे सरकारको लगानी केही मात्रामा भए पनि खेर गए पनि स्थानीय जनताको जीवन यापनको लागि आवश्यक भएको छ।

प्रत्येक वर्ष यार्सागुम्बा संकलन गर्न जाने व्यक्तिहरूले खाने र बस्ने समस्याहरू सामना गर्नुपरेको छ। तसर्थ, उनीहरूमध्ये केही बिरामी हुन्छन् भने केही अकालमा मर्छन्। यसबाट प्रत्येक वर्ष देशको क्षति हुने गरेको छ। वर्तमान समयमा अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको माग तीव्र रूपले बढेकाले यसको मूल्य पनि निकै नै बढेको छ। तर सबै यार्सागुम्बाको गुणस्तर समान नहुनाले सबैको मूल्य समान हुँदैन। हालै गुणस्तरको एक किलो यार्सागुम्बा अन्तर्राष्ट्रिय बजारमा बाह्र लाखसम्म बिक्री हुन्छ। यसबाट व्यक्ति तथा देशलाई समेत धेरै फाइदा हुनेछ।

नेपालको यार्सागुम्बा खास गरी ताइवान, हङकङ, सिंगापुर र तिब्बतमा निर्यात गरिन्छ। तर, विगतमा यसलाई तिब्बतमा निर्यात गर्दा बढी फाइदा भएको छ। किनभने यहाँ प्राप्त हुने यार्सागुम्बाको मूल्य अन्य देशहरूको तुलनामा केही बढी छ।

यार्सागुम्बालाई बहुउपयोगी जडीबुटी मानिए पनि यो कुन कुन कामका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आजसम्म पनि कुनै पनि देशमा अनुसन्धान गरिएको पाइँदैन। यद्यपि, केही वर्षयता आयुर्वेदमा यसको प्रयोग बढेकाले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढेको हो। तर, भविष्यमा यसको उपयोगिताबारे अध्ययन, अनुसन्धान गर्न नितान्त आवश्यक छ। यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनु जरुरी छ।

केही वर्षअघि यहाँका हिमाली तथा पहाडी जिल्लाहरूमा प्रशस्त मात्रामा यार्सागुम्बा पाइन्थ्यो। तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन तथा अवैज्ञानिक तरिकाले संकलन गर्नाले यी जिल्लाहरूमा यार्सागुम्बाको उत्पादन घट्न थालेको छ। केही जिल्लाका केही ठाउँमा त संकलन गर्न जाने धेरै व्यक्ति रित्तो हात पनि फर्कनु परेको छ। त्यसैले, भविष्यमा यार्सागुम्बा संकलनकर्ताहरूलाई सम्बन्धित स्थानीय निकायहरूमार्फत् वैज्ञानिक तरिकाबाट संकलन गर्ने ज्ञान दिन आवश्यक छ। अन्यथा उक्त जडीबुटी विस्तारै लोप हुँदै जानेछ।

आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर न्यून रहने र सन् २०२४ मा केही सुधार हुने प्रक्षेपण गरेको छ। परन्तु, केही समयअघि रुस र युक्रेनबीच भएको युद्धको कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि एवं आपूर्तिमा कमी जस्ता कारण मुद्रास्फूर्ति उच्च रहनुका साथै बैंकहरूको ब्याजदर बृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त नै छ।

निःसन्देह विश्व अर्थतन्त्रले झेल्दै आएको उच्च मुद्रास्फीतिको स्थितिमा केही सुधार नभएको होइन। यद्यपि कर्जाको मूल्यमा अनिश्चितता, रुस र युक्रेनबीच जारी रहेको युद्ध आर्थिक मन्दीको सामना गर्न अवलम्बन हुन नीतिगत लचकताका कारण भविष्यमा विश्वमै मुद्रास्फीति बढ्न सक्ने जोखिम अझ पनि छ।

आजसम्म विश्व अर्थतन्त्रमा मुद्रास्फीति उच्च रहेको र विद्यमान भूराजनीतिक तनावका कारण इन्धन तथा अन्य वस्तुहरूको मूल्यवृद्धि अझसम्म पनि कायमै छ। यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकाले नेपाल पनि अछुतो रहन सकेको छैन। यहाँको अर्थतन्त्रमा सुधार ल्याउन यार्सागुम्बाले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

यथार्थतः यार्सागुम्बा नेपालको सम्पत्ति हो। यसबाट यहाँको अर्थतन्त्रमा केही योगदान पुग्ने हुनाले यसको सम्वद्र्धन तथा प्रवद्र्धन गर्न नितान्त आवश्यक छ। जसका लागि सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ।

प्रतिक्रिया