क्रिकेटर ललित राजवंशीलाई मातृशोक

Jasus Khabar 3942+ समाचार ( )
२५ श्रावण २०८२

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीलाई मातृशोक परेको छ।

विराटनगर- १४ जतुवास्थित आफ्नै घरमा राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधन भएको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले जानकारी दिए ।

६० वर्षीया राजवंशी लामोसमयदेखि दमसँगै फोक्सोको विरामी रहेकी थिइन् । उपचार सेवाकै कारण हालसम्म उनी दैनिकीमा सक्रिय रहँदै आएको छिमेकी राजकुमार विश्वासले जानकारी दिए।

विश्वासका अनुसार राजवंशीको घरबाट करिब १५ मिनेटको दुरीमा रहेको सिंघीया खोलामा विधिपूर्वक अन्त्येष्टि गरिने भएको छ । यसका लागि ललितपनि घर आइसकेका छन् ।

विश्वासका अनुसार औषधि-उपचारबाट स्वास्थ्य लाभ गर्दै आएकी राजवंशीलाई आइतबार बिहान छोरी सुमनले उठाउन जाँदा मृत्यु भएको थाहा पाएकी थिइन् । त्यसपछि उनैले घरका अन्य सदस्यलाई घटनाबारे जानकारी गराएको विश्वासले बताए ।

विश्वासले भने, ‘शनिबार राति घरमा खाना औषधि खाएर सुत्नुभएको रहेछ । अब राति कतिबेला बित्नु पत्ता लागेन । तर, बिहान छोरीले उठाउन जाँदा मात्र घटना थाहा भएको हो ।’

घरका कान्छो छोरा ललितका ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर राजवंशी, माइलो दाइ रामकिशोर राजवंशी र बहिनी सुमन राजवंशी रहेका छन् ।

प्रतिक्रिया