सुनसरी। मुस्लिम समुदायको अधिकार, उत्थान र सशक्तीकरणका नाममा वार्षिक करोडौं रुपैयाँ बजेट खर्च गर्दै आएको राष्ट्रिय मुस्लिम आयोगमाथि पुनः गम्भीर प्रश्न उठेको छ। समुदायका वास्तविक सरोकारवालालाई बेवास्ता गर्दै सीमित व्यक्तिलाई मात्रै जानकारी गराएर कार्यक्रम सञ्चालन गरिएको भन्दै आयोगको कार्यशैलीको तीव्र आलोचना हुन थालेको छ।
आलोचनाको पछिल्लो आधार बनेको छ, आज भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न गरिएको “मुस्लिम महिलाहरुको सशक्तीकरण” कार्यक्रम आयोजना गरिए पनि पालिकाभित्र क्रियाशील महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूलाई समेत यसको जानकारी नदिइएको स्थानीयहरूको गुनासो छ।>
स्थानीय सरोकारवालाहरूका अनुसार मुस्लिम महिलाको सशक्तीकरणजस्तो विषयमा समुदायसँग प्रत्यक्ष काम गर्ने व्यक्तिहरूलाई नै पाखा लगाएर कार्यक्रम गर्नु आयोगको पारदर्शिता र उद्देश्यप्रति नै प्रश्न उठाउने विषय हो।>
“समुदायका समस्या बुझ्ने र महिलासँग प्रत्यक्ष काम गर्ने व्यक्तिलाई खबर छैन, तर केही निश्चित व्यक्तिलाई जम्मा गरेर कार्यक्रम सकियो भनिन्छ,” एक स्थानीय अधिकारकर्मीले टिप्पणी गरे।>
आयोगले पटक–पटक यस्तै शैलीमा आफ्ना नजिकका व्यक्ति तथा सीमित घेराभित्रका सहभागी राखेर कार्यक्रम सञ्चालन गर्दै आएको आरोपसमेत लाग्दै आएको छ। यसरी सञ्चालन गरिएका कार्यक्रमको प्रभाव समुदायमा नदेखिएको र उपलब्धि शून्यजस्तै रहेको आलोचकहरूको भनाइ छ।>
यता मुस्लिम समुदायभित्र बेरोजगारी, शैक्षिक पछौटेपन, महिला सशक्तीकरण, सामाजिक विभेद तथा आर्थिक अवसरको अभावजस्ता समस्या अझै जटिल बन्दै गइरहेका बेला आयोग भने औपचारिक कार्यक्रम र खर्चमुखी गतिविधिमै सीमित भएको आरोप छ।>
यही कारण राष्ट्रिय मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ। आयोग समुदायका वास्तविक मुद्दा समाधान गर्न असफल भएको दाबी गर्दै नेतृत्व परिवर्तनको बहस मुस्लिम समुदायभित्र चर्किंदै गएको स्रोतहरूको भनाइ छ।>
समुदायका अगुवाहरूले आयोगले खर्चको विवरण मात्र प्रस्तुत गरेर जिम्मेवारी पूरा नहुने भन्दै परिणाममुखी काम, खुला सहभागिता र पारदर्शी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका छन्। अन्यथा आयोग समुदायको भरोसा गुमाउने दिशातर्फ उन्मुख रहेको उनीहरूको चेतावनी छ।>
यता मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले आफू बाटोमा भएको र पछि फोन गर्ने प्रतिक्रिया दिनुभयो । >>