विश्वव्यापी कोभिड महामारी, विद्युत् अभावलगायत समस्याले प्रभावित भएको रिलायन्स स्पिनिङ मिल्स उद्योगले पुनः आफ्नो गति समातेको छ । आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो वर्षको भन्दा ४२ प्रतिशत नाफा कमाएर लयमा हिँडेको सन्देश दिएको कम्पनीले जनाएको छ । >
कम्पनीले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आर्षिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा झन्डै ४२ प्रतिशतले बढी हो । कम्पनीको आर्थिक वर्ष २०८०/८१ मा ८६ करोड ५० लाख रुपैयाँ नाफा रहेको थियो ।>
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । उक्त आवमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
>
२०५४ मा स्थापित देशको अग्रणी मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । यस मिलले वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात गर्छ । यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो ।
>
युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा मिल्सका नेतृत्वकर्ता गोल्यानलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो । गोल्यान ग्रुपको प्रबन्ध निर्देशकसमेत रहेका अक्षयले मिल्ससहित अन्य कम्पनीहरूको पनि नेतृत्व गरिरहेका छन् ।>
करिब ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् । जहाँ १ हजार ३ सय महिलासहित ४ हजार व्यक्तिलाई रोजगारी दिएको कम्पनीले जनाएको छ ।>
>>>>
>>