सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) बसन्तपुरमा कार्यरत एक प्रहरी जवान विवादमा तानिएका छन्।>
पीडित परिवारका अनुसार बिओपी बसन्तपुरमा कार्यरत प्रहरी जवान मनोज कुमार गणेशले नाम परिवर्तन गरिएको ‘सपना’ नामकी किशोरीलाई ललाइफकाई आफ्नो साथमा लगेको आरोप लगाइएको छ। >
घटनापछि आक्रोशित परिवार तथा स्थानीयवासीले प्रहरी चौकी सिशुवालाई घेराउ गर्दै आरोपित जवानलाई नियन्त्रणमा लिएर किशोरीलाई तत्काल सार्वजनिक गर्न माग गरेका थिए।>
स्थानीय स्रोतका अनुसार घटनापछि केही समय क्षेत्र तनावग्रस्त बनेको थियो। परिवारले किशोरीको अवस्था र अवस्थिति सार्वजनिक गर्न माग गर्दै प्रहरी प्रशासनसमक्ष दबाब बढाएका छन्।>
यता आरोपित जवानले किशोरीलाई इटहरी क्षेत्रमा राखिएको बताएका भए पनि उनको यकिन ठेगाना खुलाउन नसकेको परिवारको दाबी छ। त्यसपछि घटनाको गम्भीरता बढेको स्थानीयको भनाइ छ।>
घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीले आरोपित जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। प्रहरी स्रोतका अनुसार किशोरीको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ। किशोरी फेला परेपछि उनको बयानका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ।>
स्थानीयवासीले सीमा सुरक्षाको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीहरूबाट बेला–बेला यस्ता विवादास्पद घटनाहरू सार्वजनिक हुँदा संस्थाप्रतिको विश्वासमा प्रश्न उठ्ने गरेको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।>
यसअघि पनि हरिनगर गाउँपालिका–७ क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका एक जवानमाथि स्थानीय युवतीसँग दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएका थिए।>
प्रहरीले भने हाल घटनाबारे अनुसन्धान जारी रहेकाले तथ्य प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।>>