शिक्षकहरूकाे आन्दोलन आज पनि जारी

Jasus Khabar 3942+ समाचार ( )
८ वैशाख २०८२

काठमाडौं। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले आज पनि आन्दोलनलाई जारी राख्ने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जनाएका छन् ।

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरूलाई काममा फर्काउन सरकारले पटकपटक वार्ता गरे पनि माग पूरा नभएसम्म घर नफर्किने उनीहरूको अडान छ । यसबीचमा प्रधानमन्त्री, सभामुख, शिक्षामन्त्रीसँग शिक्षक महासंघका प्रतिनिधिबीच भएका छलफलबाट कुनै समाधान निस्कन सकेको छैन ।

सरकारले माग पूरा गर्ने भन्दै संसद् अधिवेशन आह्वान गरिसक्दा समेत आन्दोलनरत शिक्षकहरू विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया