तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ: ऊर्जामन्त्री खड्का

Jasus Khabar 3962+ समाचार ( )
८ भाद्र २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), पशुपति बहुमुखी क्याम्पस इकाई समितिले हरितालिका तीजको अवसरमा आयोजना गरेको सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् ।

‘कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैँलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ । त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईंहरूको जिम्मेवारी हो । तीज अब दाजुभाइ, आमा, दीदीबहिनी सबैले मिलेर मनाउने साझा पर्वको रूपमा स्थापित हुँदै गएको छ’, मन्त्री खड्काले भने ।

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुंगेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्व मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले भने, ‘हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिने मात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन् ।’

क्याम्पस इकाई समितिका अध्यक्ष सरोज लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ता गीता गुरुङले तीजलाई सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउँदै महिलाहरूलाई अझै पनि आसन, भाषण र शासनमा उचित स्थान नपाएकोमा चिन्ता व्यक्त गरिन् ।


प्रतिक्रिया