मध्य युरोपको अस्ट्रियाको दोस्रो ठूलो सहर ग्राजस्थित बन्डेस-ओबरस्तुफेनरियलजिम्नाजियम ड्रायर्स्युट्जेनगासे माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ। यो अस्ट्रियाको हालसम्मकै सबैभन्दा घातक गोलीकाण्ड मानिएको छ।>
अस्ट्रियाले यो घटनालाई ‘राष्ट्रिय त्रासदी’ भन्दै तीन दिनको शोक घोषणा गरेको छ। पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहान १० बजे (स्थानीय समय) देशभर एक मिनेट मौनधारण गरिनेछ।>
प्रहरीका अनुसार २१ वर्षीय बन्दुकधारी विद्यालयको पूर्वविद्यार्थी थिए, जसले अन्ततः स्कूलको शौचालयमा आफूलाई गोली हानेर आत्महत्या गरेको थियो। उनले आक्रमणमा पेस्तोल र सटगन प्रयोग गरेको पाइएकाे छ। त्याे उनले वैधानिक रूपमा खरिद गरेका थिए। >
मृतकमा सात विद्यार्थी र एक शिक्षक थिए, जसमध्ये छ महिला र तीन पुरुष थिए। एक जना गम्भीर घाइते वयस्क महिलाको मंगलबार साँझ अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो।>
गृहमन्त्री गेरहार्ड कर्नरले भने, ‘यो आक्रमणमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ।’ प्रहरीका अनुसार १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले भने, ‘यो विद्यालय अर्को सूचना नआएसम्म बन्द रहनेछ।’>
मंगलबार बिहान १० बजे गोली चलेको खबरपछि प्रहरीले तत्काल कारबाही सुरु गरेको थियो। विशेष कोब्रा टोलीसहित तीन सयभन्दा बढी प्रहरी र हेलिकप्टर परिचालन गरिएको थियो। विद्यालय १७ मिनेटभित्र खाली गराइएको थियो। ग्राजका मेयर एल्के कहरले यो घटनालाई ‘भयानक त्रासदी’ भनेकी छन्।>
चान्सलर क्रिस्टियन स्टकरले भने, ‘मध्य युरोपको ग्राजस्थित स्कूलमा भएको यो आक्रमणले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। हाम्रो दुख र शोकलाई शब्दमा व्यक्त गर्न सकिँदैन।’ मंगलबार राति ग्राजका हजारौं बासिन्दाले मुख्य चोकमा मैनबत्ती बालेर पीडितको सम्झनामा श्रद्धाञ्जली अर्पण गरे। एजेन्सी>>