सुनसरी । सुनसरीको दुहबी नगरपालिका–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयले बालविकास सहजकर्ता नियुक्तिका क्रममा अनियमितता गरेको आरोपमा परेको रिटमा उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।>
विद्यालयले २०८२ साल जेठ २७ गते एक जना बालविकास सहजकर्ताको माग गरी असार २१ गते लिखित तथा अन्तरवार्ता परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा धाँधली र अपारदर्शी प्रक्रिया अपनाइएको भन्दै दुहबी–६ की परीक्षार्थी पार्वती कुमारी रौनियारले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त परमादेशको माग गर्दै रिट दायर गरेकी थिइन् । सोही मुद्दामा अदालतले नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।>
>
परीक्षामा दुहबी–५ नम्बर वडाका वडासदस्यको श्रीमतीलाई नियुक्त गर्न मिलेमतो भएको आरोपसहित पार्वती कुमारी रौनियारले शनिबार दुहबीमा पत्रकार सम्मेलन आयोजना गरिन् । पत्रकार सम्मेलनमा उनले योग्यता पुगेका परीक्षार्थीलाई अन्याय गरी योग्य नठहरिने व्यक्तिलाई रोज्ने प्रयास भएको दाबी गर्दै निष्पक्ष छानबिन र पुनः परीक्षा सञ्चालन हुनुपर्ने माग राखिन् ।>
>
पत्रकार सम्मेलनको क्रममा पार्वती रौनियार भावुक हुँदै भक्कानिएकी थिइन् । उनले न्यायको अपेक्षा गर्दै आफू जस्तो सक्षम परीक्षार्थीको अधिकार खोस्ने कार्य विद्यालय व्यवस्थापन र स्थानीय नेतृत्वबाट भएको गुनासो पोखिन् ।>
>
साथै सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा समेत उजुरी परेको जनाइएको छ । परीक्षामा धाँधली भएको भन्ने विषयमा आयोगले प्रारम्भिक जानकारी लिइसकेको स्रोतले जनाएको छ ।>
>
उक्त विषयमा विद्यालय प्रशासन र दुहबी नगरपालिकाका सम्बन्धित निकायले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।>
>