ताप्लेजुङ घटना : मृत्यु भएका चार जनाकै शव पोष्टमार्टमपछि आफन्तको जिम्मामा

Jasus Khabar 3942+ समाचार ( )
९ वैशाख २०८२

लत्रिएको विद्युतीय तार सवारीमाथि पर्दा करेन्ट प्रवाहका कारण सोमबार बिहान पाथीभरा क्षेत्रमा भएको घटनामा मृत्यु भएका चार जनाकै शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) रवि रावलका अनुसार तीन जनाको सोमबार साँझ र एक जनाको मंगलबार बिहान पोष्टमार्टकपछि आफन्तको जिम्मा लगाइएको हो। मृत्यु भएकामध्ये ललितपुर महानगरपालिका वडा नं १० का १६ वर्षीय आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर नगरपालिका वडा नं १५ का ७० वर्षीय बिनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीय सरिता पौडेलको शव सोमबार साँझ पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको थियो।

मंगलबार सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। पाथीभरा दर्शनका लागि सोमबार बिहान त्यसतर्फ हिँडेका चालकसहित ६ जना सवार मे१ज ३०११ को सवारीमाथि तेर्से र गुन्द्रेको बिच भागमा लत्रिएको विद्युतीय तार पर्दा भएको करेन्ट प्रवाहका कारण गाडीमा आगलागी भएको थियो।

सो क्रममा चालकसहित चार जनाको मृत्यु भएको थियो भने आमा छोरा ललितपुर महानगरपालिका वडा नं १० का ४५ वर्षीय सविना आचार्य र उनका १० वर्षका छोरा अभिमय आचार्यलाई ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया