जेन–जी आन्दोलनको सबैभन्दा धेरै नकारात्मक प्रभाव सूर्यविनायकमा

Jasus Khabar 3958+ समाचार ( )
३१ भाद्र २०८२

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको बढी प्रभाव सूर्यविनायक नगरपालिकामा परेको छ । यो नगरपालिका क्षेत्रमा आन्दोलनका क्रममा सबैभन्दा धेरै विध्वंस भएको हो । भक्तपुर जिल्लामा चारवटा नगरपालिका रहेका छन् ।

सूर्यविनायक नगरपालिकाको बालकोटमा रहेको तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका दुईवटा निजी निवास आन्दोलनका क्रममा ध्वस्त भएका थिए । अर्का नेता महेश बस्नेतको गुन्डुस्थित घर पनि जलेर नष्ट भएको थियो । यसैगरी प्रमुख वासुदेव थापा बस्दै आएको उनकी छोरीको घर पनि जलेर नष्ट भएको थियो । यसैगरी गुन्डुस्थित ७ नं वडा कार्यालय र वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाको निजी निवास पनि जलेर क्षतिग्रस्त भएको थियो । साथै दधिकोटस्थित ४ नं वडा कार्यालयको भवन पनि जलेर नष्ट भएको थियो ।

नेकपा एमालेको प्रभाव क्षेत्र भएकाले यो क्षेत्रलाई निसाना बनाएको बताइएको छ । एमाले नेताहरू स्वयंले आन्दोलन आफ्नो पार्टी र नेताहरूप्रति लक्षित भएको बताइरहेका छन् । चारवटा नगरपालिकामध्ये सूर्यविनायक एमालेको प्रभाव क्षेत्र हो । पछिल्लोपटक स्थानीय निकाय निर्वाचनमा यस नगरपालिका क्षेत्रमा एमालेबाटै नगर प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्षहरू जित निकाल्न सफल भएका थिए । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी र मध्यपुर थिमी तथा चाँगुनारायणमा नेपाली कांग्रेसका उम्मेदवारले मेयर पद जितेका थिए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले भौतिक आक्रमणकै कारण नगरपालिका क्षेत्रका दुईवटा वडामा सेवा नियमित गर्न नसकिएको जानकारी गराए । ‘सूर्यविनायक नगरपालिका वडा नं ४ र ७ का वडा कार्यालय तोडफोड र आगजनी भएकाले अर्को सूचना नआएसम्म सेवा सञ्चालन कार्य स्थगित गरिएको छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अन्य वडा कार्यालय, स्वास्थ्य संस्था र नगर कार्यपालिकाबाट प्रदान हुने सेवा (अत्यावश्यकबाहेक) अवरुद्ध भई भदौ २९ देखि नियमित गरिएको छ ।

प्रतिक्रिया