दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयताको दोस्रो स्थान

Jasus Khabar 1+ समाचार ( )
१६ अशोज २०८१

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा पुगेका छन्। यो उपलब्धि नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिन्छ, किनकि यसअघि कुनै नेपाली खेलाडीले आइसिसी वरीयताको कुनै पनि क्याटागोरीमा दोस्रो स्थानमा पुग्न सकेका थिएनन्।


दीपेन्द्रले चार स्थानको फड्को मारेर यो सफलता हासिल गरेका हुन्। इंग्ल्यान्डका लियाम लिभिङस्टोनलाई पहिलो स्थानमा पाएका छन्। उनले अस्ट्रेलियाका मार्कस स्टोइनिस (तेस्रो), जिम्बावेका सिकन्दर राजा (चौथो), श्रीलंकाका विनन्दु हसरंगा (पाँचौं) र अफगानिस्तानका मोहमद नाबी (छैटौं) लाई पछाडि पार्दै यो उच्च स्थानमा पुगेका छन्।

भारतीय अलराउन्डर हार्दिक पाण्ड्या सातौं स्थानमा छन् भने पाकिस्तानका इमाद वासिम आठौं स्थानमा छन्।

नेपालका कुशल मल्ल ४०औं स्थानमा रहेका छन्। दीपेन्द्र टी-२० ब्याटिङ वरीयतामा पनि उक्लेर ४३औं स्थानमा पुगेका छन्, जबकि रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन्।

दीपेन्द्र टी-२० बलिङ वरीयतामा ७०औं स्थानमा रहेका छन्, भने सोमपाल कामी ९१औं स्थानमा छन्।

प्रतिक्रिया