राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमालले आज विशेष पत्रकार सम्मेलन गरी नयाँ स्वतन्त्र, मूल्य आधारित र मुद्दाकेन्द्रित राजनीतिक शक्ति निर्मण गर्ने घोषणा गर्नुभयो।>
"पुरानो व्यवस्थाको अन्त्य, नयाँ राजनीतिक संस्कृति निर्माणको सुरुवात" भन्ने नाराका साथ आयोजित यस सम्मेलनले नेपालको राजनीतिक परिदृश्यमा युवा नेतृत्वको नयाँ अध्यायको सङ्केत दिएको छ।>
हमालले पुरानो राजनीतिक ढाँचालाई सामन्ती र सौदाबाजीमा आधारित भन्दै कडा आलोचना गर्नुभयो। "दक्षिणपन्थी शक्तिहरूले राष्ट्रवाद र सांस्कृतिक पहिचानको नारा लगाउँछन् तर व्यवहारमा उनीहरू सत्ताकेन्द्रित राजनीतिबाट मुक्त हुन सकेका छैनन्। जेनजीले अब यस्ता पुराना ढाँचामा बसेर राजनीति गर्दैन," उहाँले स्पष्ट पार्नुभयो।>
जेनजी आन्दोलन सकिएको होइन - चेतनाको क्रान्ति जारी छ>
"जेनजी आन्दोलन सकियो" भन्ने टिप्पणीको खण्डन गर्दै हमालले भन्नुभयो , आन्दोलन सडकमा मात्र हुँदैन, विचारमा हुन्छ। नेपालको इतिहासमा २००७, २०४६, २०६२/६३ का हरेक परिवर्तन पहिले चेतनास्तरमा भए, पछि संस्थागत रूप लिए। "हाम्रो पुस्ता fearless generation हो। अब हामी protest politics बाट politics of governance and institution-building तर्फ संक्रमण गर्दैछौं। सत्ता बाहिर रहेका सम्पूर्ण जेनजीलाई एकीकृत गर्दै हामी अगाडि बढ्नेछौं।">
मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न कडा माग>
भदौ २३ र २४ गतेका घटनालाई लोकतान्त्रिक इतिहासको कालो अध्याय भन्दै हमालले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अझसम्म सार्वजनिक नभएकोमा गम्भीर प्रश्न उठाउनुभयो। राज्यको अनुपातहीन बलप्रयोग र आन्दोलनलाई भित्रबाट हिंसातर्फ धकेल्ने षड्यन्त्र दुवै पक्षको नाम त्यस प्रतिवेदनमा रहेकाले नै रोकिएको हो कि भन्ने गम्भीर आशङ्का उहाँले व्यक्त गर्नुभयो। "दोषी जोसुकै होस् — सुरक्षा अधिकारी, मन्त्री वा राजनीतिक तत्त्व कारबाही हुनैपर्छ। दण्डहीनताको संस्कृति जारी राखे भावी पुस्ताले राज्यप्रति विश्वास गुमाउनेछन्।">
सीमा अतिक्रमणमा सरकार मौन , जनता आक्रोशित>
लिपुलेक, कालापानी र लिम्पियाधुरामा छिमेकी देशले सैन्य संरचना निर्माण र परेड खेलाउँदा सरकार रणनीतिक मौनतामा रहेकोमा हमालले कडा आपत्ति जनाउनुभयो। तत्काल कूटनीतिक विरोध दर्ता, संसदमा आपतकालीन बहस र नेपाललाई Zone of Peace घोषणा गर्न उहाँले माग गर्नुभयो।>
महँगी, कालोबजारी र युवा पलायन,संरचनागत समस्या>
पेट्रोलियममा लागेका अनावश्यक कर हटाएर तत्काल राहत दिन सकिने औंल्याउँदै हमालले सरकारमा इच्छाशक्तिको अभाव रहेको बताउनुभयो। कालोबजारी, crony capitalism र बेरोजगारीका कारण युवाहरू देश छोड्न बाध्य भइरहेको भन्दै यसलाई संरचनागत समस्याका रूपमा सम्बोधन गर्न उहाँले सरकारसँग माग गर्नुभयो।>
बालेन शाहलाई सिधा सन्देश >
बालेन शाहको लोकप्रियतावादी राजनीतिप्रति टिप्पणी गर्दै हमालले भन्नुभयो "केपी ओलीसँग पनि दुई तिहाइ थियो, हामीले घुँडा टेकाएका थियौं। बालेन शाहले पनि यो इतिहास सम्झून् , लोकप्रियता र सत्य एउटै हुँदैनन्।">
नयाँ युगको सुरुवात>
"हामी पुरानो व्यवस्थालाई अस्वीकार गर्छौं तर अराजकताको पक्षमा छैनौं , हामी व्यवस्थित परिवर्तनको पक्षमा छौं," भन्दै हमालले जवाफदेहिता, वैचारिक स्पष्टता, राष्ट्रिय हित र पुस्तागत न्यायलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। देश-विदेशका नेपालीलाई यस नयाँ युगको सुरुवातमा साथ दिन उहाँले आह्वान गर्नुभयो।>>