अमेरिकाले इरानमा ३० हजार पाउन्डको जीबीयू–५७ बंकर–बुस्टर बम खसालेको दाबी

Jasus Khabar 3958+ समाचार ( )
८ आषाढ २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहानै इरानका तीनवटा मुख्य आणविक केन्द्रहरू फोर्डो, नतान्ज र इस्फाहानमा अमेरिकी आक्रमण सफल भएको घोषणा गरे । उनले यसअघि इरानविरुद्धको इजरायली अभियानमा प्रत्यक्ष संलग्न हुने/नहुने भन्ने विषय अझै टुंगोमा नपुगेजस्तो संकेत गरेका थिए । 

आक्रमणपछि सबै अमेरिकी विमानहरू इरानी आकाशबाट बाहिर गइसकेको र सुरक्षित रूपमा फर्किंदै गरेको ट्रम्पको दाबी थियो । उनले अमेरिकी फौजलाई बधाई दिँदै भनेका छन्, ‘विश्वमा अरू कुनै सेनाले यस्तो कारबाही गर्न सक्दैन ।’ 

ह्वाइट हाउसबाट प्रसारित सम्बोधनमा ट्रम्पले भने, ‘हाम्रो लक्ष्य इरानको आणविक प्रवर्द्धन क्षमता नष्ट गर्नु र विश्वकै सबैभन्दा खतरनाक आतंकवादी समर्थक राष्ट्रबाट आउने खतरा रोक्नु हो ।’ उनले तीनै वटा प्रमुख आणविक केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको दाबी गरेका छन् ।

एक इजरायली अधिकारीले अमेरिकाले बीटू स्टेल्थ बमवर्षकबाट आक्रमण गरेको बताएका छन् । यस क्रममा ३० हजार पाउन्डको जीबीयू–५७ बंकर–बुस्टर बम प्रयोग गरेको अनुमान गरिएको छ, जुन भूमिगत फोर्डो केन्द्र ध्वस्त गर्न सक्षम मानिन्छ ।

कुल ६ वटा बंकर–बस्टर बम फोर्डोमा प्रयोग गरिएको थियो भने नतान्ज र इस्फाहानमा ३० वटा टोमहक मिसाइल अमेरिकी पनडुब्बीबाट प्रक्षेपण गरिएको थियो ।

आक्रमणको पूर्व जानकारी इजरायललाई दिइएको थियो । अमेरिकी कारबाहीपछि इजरायली प्रधानमन्त्री नेतान्याहुले ट्रम्पलाई धन्यवाद दिँदै भनेका छन्, ‘यो निर्णयले इतिहास बदल्ने छ। ‘इजरायलले आफ्नो ‘राइजिङ लायन अपरेसन’ मा ऐतिहासिक काम गर्‍यो तर अमेरिकाले आज राति संसारमा अरू कुनै राष्ट्रले गर्न नसक्ने कार्य गर्‍यो ।’ 

ट्रम्प र नेतान्याहुले ‘शक्तिमार्फत शान्ति’को नारा पुनः दोहोर्‍याउँदै इरानलाई कडा सन्देश दिएका थिए ।

इरानले पनि फोर्डो, नतान्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर इरानी आणविक ऊर्जा  संस्थाले ‘दुश्मनहरूको दुर्भावनापूर्ण योजनाको बाबजुद पनि इरानको आणविक कार्यक्रम जारी रहने’ भन्दै विज्ञप्ति निकालेको छ । संस्थाले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको आरोप लगाएको छ ।

इरानी सरकारी मिडियाले आक्रमणपछि कुनै विकिरण नफैलिएको दाबी गरेका छन् । वरपरका बासिन्दामा तत्काल कुनै खतरा नरहेको पनि समाचारमा उल्लेख छ । 

तर इरानी सरकारी प्रसारक आईआरआईबीका एक विश्लेषकले भनेका छन्, ‘क्षेत्रका प्रत्येक अमेरिकी नागरिक र सैनिक वैध लक्ष्य हुन् ।’ उनले अमेरिका र इजरायलका सैन्य अड्डा देखाइएको नक्सासहित चेतावनी दिएका थिए, ‘तिमीहरूले सुरु गर्‍यौ, अन्त्य हामी गर्छौं ।’ 

यसैबीच, अमेरिकाले थप तनाव नचाहेको संकेत दिँदै तेहरानलाई सन्देश पठाएको छ, ‘हाम्रो आक्रमण आणविक कार्यक्रम सीमित राख्ने उद्देश्यले थियो । हामीलाई त्यहाँको शासन परिवर्तन चाहिएको होइन ।’

ट्रम्पले चेतावनी पनि दिएका छन्, ‘शान्तिको बाटो अँगालेन भने इरानले हालको आठ दिनको तुलनामा अझै ठूलो दुःख भोग्ने छ । युद्ध रोकिएन भने हामी बाँकी लक्ष्यहरू पनि चाँडो र सटिक रूपमा नष्ट गर्नेछौँ ।’ 

इजरायलभित्र भने सबै विद्यालयहरू बन्द गरिएका छन् । जमघटमा रोक लगाइएको छ र आवश्यक सेवाबाहेक सबै व्यापार बन्द गरिएको छ । आकाशमार्ग पनि बन्द गरिएको छ ।

पछिल्लो केही दिनदेखि इजरायलले इरानका शीर्ष सैन्य नेताहरू, आणविक वैज्ञानिकहरू, युरेनियम प्रशोधन केन्द्रहरू र क्षेप्यास्त्र कार्यक्रममाथि आक्रमण गरिरहेको छ । इरानले जवाफमा ४ सय ७० भन्दा बढी ब्यालिस्टिक मिसाइल र झन्डै १,००० ड्रोन प्रक्षेपण गरिसकेको छ ।

अहिलेसम्म इरानी आक्रमणबाट २४ जनाको मृत्यु भएको छ र हजारौँ घाइते छन् । केही मिसाइलहरू अपार्टमेन्ट भवनमा लागेका छन्, जसले ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया