भन्सार छली: सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएको साढे १७ लाख बराबरको सामान बरामद

Jasus Khabar 3942+ समाचार ( )
८ श्रावण २०८२

अजमल अन्सारी

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरी तथा मातहत सुरक्षा बेस र गस्ती टोलीहरूले सुनसरीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइएका करिब साढे १७ लाख रुपैयाँ बराबरका सामानहरू नियन्त्रणमा लिएका छन्।


गढी गाउँपालिका–२ स्थित औरावनीमा सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले आज बिहान ७ बजे भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ९ लाख २४ हजार १ सय बराबरको लत्ताकपडा र जुत्तासहित ४ लाख ७० हजार मूल्य बराबरका तीनवटा मोटरसाइकल बरामद गरेको छ।


यसैगरी बिहान साढे ७ बजे इनरुवा नगरपालिका–४ हनुमान चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी निरीक्षक अमृत कुमार बिकको नेतृत्वमा खटिएको ७ जनाको गस्ती टोलीले ५७ हजार ७ सय ५ मुल्य बराबरका किराना सामान नियन्त्रणमा लिएको हो।


यस्तै बुधबार ७ गते साँझ करिब साढे ७ बजे दुहबी नगरपालिका–११ स्थित नहर छेउमा सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले भारतबाट मोटरसाइकलमा लोड गरी ल्याइएको २ लाख ९९ हजार बराबरको कुर्ता–सुरुवालसहितको सामान नियन्त्रणमा लिएको जनाएको छ।


ती सबै बरामद गरिएका सामानहरू आवश्यक कानुनी कारवाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।


सशस्त्र प्रहरी बल  नेपाल नम्बर ४ गण हे.क्वा. सुनसरीका गणपति प्रहरी उपरीक्षक निर्मल कुमार थापाका अनुसार खुला सीमाका कारण भन्सार छलिका गतिविधि दोहोरिरहेकाले निगरानी बढाइएको छ।


“अवैध कारोबार नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा नियमित गस्ती तथा सूचनाको आधारमा निगरानी कडा पारिएको छ,” उनले भने, “सीमामा अवैध ढुवानी गर्ने समूहहरूलाई कानुनी दायरामा ल्याउन सशस्त्र प्रहरी बल प्रतिवद्ध छ।”


उनका अनुसार पछिल्लो समय सुराकीका आधारमा भएका विशेष गस्तीहरूबाट उल्लेखनीय मात्रामा भन्सार छलीका सामानहरू नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया