जेनजी’ युवाहरुको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी मन्त्रालयको कामकाज नियमित रुपमा सञ्चालनमा आएको छ ।>
परिस्थिति सामान्य बन्दै गएपछि आजदेखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । उनले भने, “यही भदौ २३ गतेको ‘जेनजी’युवाको प्रदर्शनका कारण २७ सम्म मन्त्रालय र मातहतका निकायको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा काम सञ्चालनमा आएको छ ।”>
>
सो प्रदर्शनका क्रममा मन्त्रालय र मातहतका चारपाङ्ग्रे गाडी १४ वटा जलेर पूर्ण रुपमा नष्ट भएका र छ गाडीमा तोडफोड गरिएको सहसचिव पुरीले बताए । उनले भने, “मन्त्रालयमा केही पनि धेरै क्षति भएको छैन, गाडीहरु जलेका र क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ, हामीले नियमित काम सुरु गरेका छौँ ।”>
आन्दोलनकारीको आगजनीका कारण सिंहदरबारका अधिकांश भवन आगलागीबाट जले पनि खानेपानी मन्त्रालय भने जोगिएका कारण मन्त्रालयका काम सञ्चालन गर्न सहज भएको जनाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर कमलराज श्रेष्ठले विभागको नियमित काम सञ्चालन भइरहेको बताए । उनले भने, “आन्दोलनबाट विभागमा पनि कुनै क्षति भएको छैन, कार्यालयका केही गाडीमा क्षति पुगेको छ, अन्य क्षति हुन नपाएकाले काम सुरु गरेका छौँ ।” रासस>>