आक्रोशको पुरानो रिसिबि: सुनसरीमा खुकुरी प्रहार

Jasus Khabar 3942+ समाचार ( )
२२ वैशाख २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ जागरिती चोकमा आइतबार बिहान खुकुरी प्रहारको घटना भएको छ। पुरानो रिसिबिको कारण देखाउँदै २२ वर्षीय मिसान कार्कीले ४५ वर्षीय दुर्गा दुलालमाथि खुकुरी प्रहार गरेका हुन्।


प्रहरीका अनुसार बिहान करिब ९ बजे दुर्गा दुलालको ढाड, बायाँ खुटाको तिघ्रा र पिडौलामा धारिलो हतियार प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन्। घाइते दुलाललाई सुरुमा नजिकैको चतरा अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। हाल उनको अवस्था बोल्न सक्ने रहेको जनाइएको छ।


घटनापछि इलाका प्रहरी कार्यालय चतराबाट प्रनानी राजन खड्काको कमाण्डमा टोली खटी घटनास्थल पुगेको थियो। प्रहरी टोलीले खुकुरीसहित आक्रमणकारी मिसान कार्कीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा राखिएको जनाएको छ।


घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया