सुनसरी । इनरुवा नगरपालिका–१० का वडा अध्यक्ष खलिल मियाँले वडा कार्यालय भवन निर्माण कार्य पुरानै स्थानमा निरन्तरता दिइएको बताउनुभएको छ।>
आइतबार पत्रकारसँग कुराकानी गर्दै उहाँले विसं २०३९ सालदेखि वडा कार्यालयको भवन सोही स्थानमा रहेको र तत्कालीन पञ्चायतकाल तथा गाविस अवधिदेखि नै प्रशासनिक गतिविधि सञ्चालन हुँदै आएकाले नयाँ भवन पनि त्यहीँ निर्माण गर्न लागिएको बताउनुभयो।>
वडा अध्यक्ष मियाँले केही व्यक्ति तथा समूहले राजनीतिक प्रतिशोधका आधारमा समाजलाई विभाजित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि सफल हुन नदिने बताउनुभयो। उहाँले राजनीतिक स्वार्थका लागि जनतालाई भ्रममा पार्ने काम भइरहेको दाबी गर्दै त्यसको प्रतिकार गरिने उल्लेख गर्नुभयो।>
उहाँले वडा बासिन्दालाई कुनै पनि बहकावामा नपर्न आग्रह गर्दै विकास निर्माणका कार्यमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। “विकास र समृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो।>
वडा कार्यालय भवन निर्माण सम्बन्धमा नगरसभाबाट निर्णय भइसकेको, निर्माण सम्झौता सम्पन्न भई ठेक्का प्रक्रिया समेत पूरा भएको तथा निर्माण कार्य अघि बढिसकेको उहाँको भनाइ थियो। भवन निर्माण सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहे पनि अदालतबाट काम रोक्न आदेश नआएकाले निर्माण कार्य निरन्तर सञ्चालन भइरहेको उहाँले बताउनुभयो।>
उहाँले जनतालाई भ्रममा पार्ने तथा अनावश्यक विवाद सिर्जना गर्ने गतिविधि बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी समेत दिनुभयो।>
स्थानीयवासीले पनि वडा कार्यालय भवन पुरानै स्थानमा निर्माण हुनुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले विकास निर्माणका काममा अवरोध पुर्याउने प्रयासको प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए।>
>>