सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले उच्च प्राथमिता दिएको छ । यसैक्रममा शुक्लाफाँटा– ११ कलुवापुरमा निः शुल्क रगत परीक्षण आयोजना गरिएको छ । निःशुल्क रगत परीक्षण स्वास्थ्य शिविरमा एक सय १६ महिला र ६४ पुरुषको शिविरमा रगत परीक्षण गरिएको छ ।>
तीमध्ये १४ जनामा सिकलसेलको ट्रेट (वाहक) फेला परेको छ । सिकलसेल एनिमिया भए नभएकोबारे ट्रेट देखिएकाको रगत प्रयोगशालमा पुनः परीक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । उनका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँच जना पुरुष रहेका छन् ।>
'छ वर्षीय बालकदेखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छ,' उनले भने, 'यसअघि ती व्यक्ति र तीनका परिवारको सिकलसेल एनिमियासम्बन्धी स्क्रिनिङ टेष्ट भने भएको पाइएको छैन ।'>
सिकलसेल ट्रेट देखिएका व्यक्तिलाई शिविरमा रहेका चिकित्सकहरूले आवश्यक परामर्श दिएका छन् । सिकलसेल एनिमियासम्बन्धीको कुन्डली हेरेर मात्रै विवाह गर्न शिविरमा सहभागीलाई सुझाव दिइएको छ । यसअघि नगरपालिकाका ६ वडामा छुट्टाछुट्टै रूपमा सिकलसेल एनिमिया पहिचानका लागि आयोजना गरिएका शिविरमा एक सय २६ जनामा सिकलसेलको ट्रेट फेला परेको थियो ।>
स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार सिकलसेल एनिमिया अनुवांशिक रक्त विकार भएकाले जसमा रगतमा पाइने रातो रक्तकोष को बनावट असामान्य हुन्छ । सामान्य अवस्थामा यी कोष गोलाकार र लचिलो हुन्छन्, तर सिकलसेल एनिमियामा ती कोष अर्धचन्द्र (सिकल) आकारका र कडा हुने गरेका छन् ।>
अर्धचन्द्र आकारका विकृत कोष रक्तनलीहरूमा अड्किन गई रगतको प्रवाह अवरुद्ध गर्दा बिरामीलाई पीडा हुने गरेको पाइएको छ । 'अर्धचन्द्र आकारका रक्तकोष छोटो समयमै नष्ट हुने हुँदा बिरामीलाई रक्तअल्पता (थकान, कमजोरी) गराउँछ,' उनले भने, 'अङ्ग क्षति दीर्घकालीन असरले मुटु, फोक्सो, मिर्गौला, कलेजो जस्ता अङ्गमा क्षति पुर्याउन सक्छ ।'>
यो रोग आमा बुवाबाट बालकमा अनुवांशिक रूपमा सर्ने गर्दछ । सिकलसेल ट्रेट भनेको सिकलसेल एनिमियाको लक्षणलाई जनाउँछ ।>>