जापानिज इन्सेफ्लाइटिसबाट जोगिऔं

Jasus Khabar 3958+ समाचार ( )
३० श्रावण २०८२

जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो  । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ  । तर धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिन्छ  ।

यो भाइरसबाट संक्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुरबंगुरजस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ  । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन  । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ  ।

रोगका लक्षणहरू

– बेस्सरी टाउको दुख्ने ।
– उच्च ज्वरो आउने, बेहोस हुने ।
– घाँटी अररो (कडा) हुने ।
– कम्पन हुने ।
– पक्षघात हुने ।

समयमा उपचार नपाए बिरामीको मृत्युसमेत हुन सक्छ  ।

कसरी जोगिने ?      
लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो  ।

– हाँस, कुखुरा, सुँगरबंगुर, घोडाजस्ता घरपालुवा चराचुरुंगी तथा जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं ।
–  घर बाहिर निस्किँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाऔं  ।
– घरको झ्यालढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने गरौं ।
– लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं ।
– सधैं झुलभित्र मात्रै सुत्ने गरौं ।

यो रोगबाट बच्नको लागि १२ महिनाको उमेरमा जे.ई. खोप लगाउनुपर्छ  । यदि यो खोप लिन छुटेको छ भने पाँच वर्षको उमेरसम्म पनि जे.ई. खोप लगाउन सकिन्छ  ।

प्रतिक्रिया