सप्तरीको सुरुङ्गा नगरपालिकामा ८ मा शुक्रबार बिहान डाका समूहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। धारिलो हतियार र पेस्तोलसहित आएको डाका समूहको आक्रमणबाट सुरुङ्गा नगरपालिका ८ का कान्तलाल चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।>
प्रतिकार गर्दा हतियारधारी डाका समूहले प्रहार गरेको धारिलो हतियार र पेस्तोलबाट चलाएको गोली लागि घर धनी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। मृतक चौधरीलाई बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका छन्।>
सप्तरी प्रहरीका अनुसार डाका समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली प्रहारका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको छ। गोली लागेर चौधरीको मृत्यु भएको हो वा धारिलो हतियारको प्रहारबाट भन्नेबारे अहिलेसम्म यकिन नभइसकेकोले घटनाको सूक्ष्म अनुसन्धान चलिरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।>
डाका समूहले चौधरीको घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगदसमेत लुटेर लगेको पीडित परिवारलाई उद्धृत गर्दै एसपी खतिवडाले जानकारी दिए।>
घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डाका समूहको पहिचान तथा खोजीमा प्रहरी परिचालन गरिएको एसपी खतिवडाले बताए।>>