"QR कोडमार्फत घुस लिएको हुँ” — मन्त्री मण्डलका सहयोगी मेहताको सनसनीपूर्ण स्वीकारोक्ति

Jasus Khabar 3958+ समाचार ( )
कोशी सरकारभित्र गम्भीर भ्रष्टाचार संकेत, मन्त्रीको भूमिकामा समेत प्रश्न उठ्दै
२३ श्रावण २०८२

सुनसरी । कोशी प्रदेश सरकार अन्तर्गतको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत अमृत मेहताले क्युआर कोड प्रयोग गरी रकम उठाएको स्वीकार गरेका छन् । मन्त्रालयको नाममा हुने काम–काजमा सहजीकरणको बहानामा क्युआर स्क्यानमार्फत घुस असुली गर्ने कार्यमा संलग्न रहेको खुलेको छ ।


मन्त्री सदानन्द मण्डलका सहयोगी मेहताले केही समयअगाडि आफैंले यो कार्य गरेको भन्दै सामाजिक संजाल मार्फत स्वीकारोक्ति गरेका हुन् । क्युआर कोडमार्फत रकम असुली गर्नु आपराधिक आचरणमा पर्ने भएकाले यो स्वीकारोक्तिलाई गम्भीर मानिएको छ ।


यस प्रकरणसँगै मन्त्री मण्डलमाथि पनि प्रत्यक्ष संलग्नताको आशंका गरिएको छ । मन्त्रालयभित्र मन्त्रीको जानकारीबिनै यस्ता आर्थिक लेनदेन सम्भव नहुने भन्दै नागरिक समाज, सञ्चारमाध्यम र विपक्षी दलहरूले मन्त्रीमाथि समेत छानबिनको माग गरेका छन् ।


प्रदेशसभा बैठकमा विपक्षी सांसदहरूले मन्त्रालयलाई भ्रष्टाचारको अखडा बनाइएको आरोप लगाउँदै मन्त्रीको राजीनामा माग गरेका छन् । तर, अहिलेसम्म मन्त्री मण्डल वा मन्त्रालयका तर्फबाट मार्ग प्रस्त गरेका छैनन् ।


प्रदेश सरकारभित्रको यस किसिमको भ्रष्टाचारले समग्र सरकारको छविमा गम्भीर असर पारेको विश्लेषकहरूको भनाइ छ । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग चुलिंदै गएको छ ।


प्रतिक्रिया