उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।>
‘अन्तरराष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । “बाघ संरक्षणबाट पर्या–पर्यटनको विकासमा टेवा पुग्न सक्छ । बाघ संरक्षित क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी आर्थिक लाभ लिन सकिन्छ”, उनले भने ।>
उपराष्ट्रपति यादवले विश्वमा बाघको छाला, दाँत र हाडका लागि गरिने अवैध सिकारका कारण बाद्धको सङ्ख्या बट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै तीव्र रूपमा बढ्दो वनजङ्गल फँडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारणबाट हुने वन विनाशले बाघको बासस्थान बर्सेनि सङ्कटमा परिरहेको बताए ।>
शुभकामना सन्देशमा भनिएको छ, “बाघ संरक्षणमा पछिल्लो दशकमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ, यो सफलता सरकार, स्थानीय समुदाय, सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारहरूको प्रयासबाट सम्भव भएको हो । संरक्षित क्षेत्रहरूको सन्तुलित व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, जनचेतना, जनसहभागितालगायत महत्त्वपूर्ण कदमबाट नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो, नेपालमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि उत्तिकै थपिएका छन् ।”>
उपराष्ट्रपति यादवले बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षामात्र नभई सो विषय वातावरणीय सन्तुलनसँग जोडिएकाले सबैको सहकार्य र समन्वयबाट संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।>
उनले भने, “बाघले जैविक विविधता कायम राख्न सहयोग गर्दछ, अन्तरराष्ट्रिय बाघ दिवसले हामी सबैलाई बाघ संरक्षणको साझा जिम्मेवारीसहित एकजुटताका साथ अघि बढ्न अभिप्रेरित गर्न सकोस् । दिवसले बाघ संरक्षणको महत्त्वपूर्ण अभिभारालाई दत्तचित्त र सक्रियताका साथ पूरा गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”>
बाघ एउटा सुन्दर र पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण वन्यजन्तुमध्येको एक हो । विश्वभरी यसको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखलाई ‘अन्तरराष्ट्रिय बाघ दिवस’ का रूपमा मनाइन्छ ।>
मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै तिनको संरक्षणमा स्वःस्फूर्त सहभागिताका लागि अन्तरराष्ट्रिय बाघ दिवसले अभिप्रेरित गर्ने उपराष्ट्रपति यादवले विश्वास व्यक्त गरे । सरकार र सरोकार भएका सबैलाई बाघको संरक्षणका लागि योजना र कार्यक्रम तर्जुमा गर्नमा बाघ दिवसले सहयोग पुर्याउने उनले धारणा राखे ।>>