अस्ट्रेलियामा नेपाल लगातार तेस्रो खेलमा पराजित

Jasus Khabar 3958+ समाचार ( )
२ भाद्र २०८२

अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले त्यहाँ जारी ‘टप इन्ड टी-२० सिरिज’ मा लगातार तेस्रो खेलमा हार भोगेको छ। सोमबार बिहान सम्पन्न खेलमा नेपाल मेलवर्न स्टार एकेडेमीसँग ३१ रनले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। जवाफमा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रनमा समेटिंदा ३१ रनले पराजित हुन पुग्यो।

डार्विनमा भएको खेलमा मेलवर्नका लागि ब्लेक म्याकडोनाल्डले ७४ रनको सानदार इनिङ खेल्दा ओपनर थोमस रोगर्सले पनि ६५ रनको अर्धशतकीय इनिङ खेले। यी दुईबाहेक साम हार्परले ११ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिंदा सोमपाल कामी र शाहव आलमले समान १-१ विकेट लिएका थिए।

जवाफमा नेपालले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको थियो। ओपनर कुशल भुर्तेलले २५ रन बनाउँदा आसिफ शेखले ४९ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। उनी बाहेक कप्तान रोहित पौडेलले ३३ रन बनाउँदा कुशल मल्लले ११ रन बनाएका थिए। अन्यको प्रदर्शन भने गतिलो रहेन। मेलवर्नका लागि अस्टिन एनलजर्क र डफ वारेनले २-२ विकेट लिंदा आर्यन शर्मा र क्रिस होउले समान १-१ विकेट लिए।

यसअघि नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ रन र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भएको थियो।

प्रतिक्रिया