सुनसरीमा सशस्त्र प्रहरीद्वारा हेरोइन र प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

Jasus Khabar 3946+ समाचार ( )
२५ जेठ २०८३

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीका अनुसार आइतबार साँझ करिब ६ः४० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ८८४८ नम्बरको पल्सर एनएस मोटरसाइकलमा सवार दुई जना व्यक्तिले ड्युटीमा रहेको प्रहरी टोलीलाई देख्नासाथ शंकास्पद गतिविधि गर्दै तीव्र गतिमा भाग्ने प्रयास गरेका थिए।

प्रहरी टोलीले पछ्याउने क्रममा मोटरसाइकल केही पर पुगेर दुर्घटनामा परेको थियो। दुर्घटनापछि उद्धार गरी सोधपुछ गर्दा चालकले धरान उपमहानगरपालिका–८ निवासी ३४ वर्षीय कुलदिप साह र पछाडि सवार महिलाले झापाको भद्रपुर नगरपालिका–४ घर भई हाल धरान–८ बस्ने २९ वर्षीया अनु प्रसाई भएको परिचय दिएका थिए।

उनीहरूलाई शंका लागेपछि प्रहरीले शरीर तथा मोटरसाइकल खानतलासी गर्दा अनु प्रसाईले बोकेको प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको प्रतिबन्धित औषधि Triprolidine Hydrochloride & Codeine Phosphate Syrup (Codbix) लेखिएको १० बोतल फेला परेको थियो।

त्यसैगरी कुलदिप साहले मुखभित्र लुकाएर राखेको कालो प्लास्टिकको पोका बरामद गरिएको थियो। उक्त पोका खोलेर जाँच गर्दा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको र डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ३.०८ ग्राम तथा प्लास्टिकबाहेक ३.०७ ग्राम रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट रेड्मी कम्पनीका दुई थान मोबाइल फोन र उनीहरू सवार पल्सर एनएस मोटरसाइकल समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार