विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा (एमाले) कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।>
हिजो र अस्ती धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।>
>
खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गिरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा), खड्ग राई (संखुवासभा), ईश्वरमणी राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ) रहेका छन् ।>
यसैगरी, सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) कार्यदलमा रहेका छन् ।>
खतिवडाका अनुसार भदौ ३ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखिएका छन् । एक साताभित्र आयोजना हुने बैठकमा विधान संशोधनका विषयमा व्यापक बहस हुने, त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।>
जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाजिने गरी छलफल गरिनेछ ।>
अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएकै हो : खतिवडा>
बैठकमा कतिपय केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासो आइरहेका सवालमा पार्टी प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएको बताए ।>
‘पार्टी बैठकमा ४२ जना कमरेडहरुले बोल्नुभयो । केही कमरेडहरुले पार्टी केन्द्रको निर्णय र अपानि १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो’ खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन । तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरुले बोल्ने समय पाउनु भएन ।’>
पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तर पार्टी निर्देशन १२ जारी गर्द पार्टी केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका पार्टी कमिटीमा पठाएका थिए ।>>