अजमल अन्सारी>
सुनसरी । सुरक्षा व्यवस्था सुदृढ गर्दै आपराधिक गतिविधि नियन्त्रण तथा सामाजिक शान्ति कायम गर्ने उद्देश्यले आज जिल्ला प्रशासन कार्यालय सुनसरीको सभाहलमा अन्तर जिल्ला स्तरीय सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।>
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापा लगायत सुनसरी र सप्तरी जिल्लाका सुरक्षा समितिका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।>
>
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वर्तमान परिस्थितिमा सबै सुरक्षा निकाय र प्रशासनिक निकायबीच आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकको सुरक्षा र शान्ति सुव्यवस्थामा कुनै पनि खालको सम्झौता नगर्ने दृढता व्यक्त गरे। उहाँले सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र स्थानीय तहबीच नियमित समन्वय बैठकको निरन्तरता तथा आपसी सूचना आदानप्रदानलाई अझ तीव्रता दिन आग्रह समेत गर्नुभयो।>
>
बैठकले पछिल्लो समय सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधि, लागू औषधको ओसारपसार, चोरी–डकैती, तस्करी, अवैध कारोबार र समाजमा शान्ति सुरक्षामा पर्न सक्ने संभावित जोखिमहरूबारे गम्भीर समीक्षा गर्दै प्रभावकारी व्यवस्थापनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।>
>
बैठकमा सहभागी सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रभित्र भइरहेको सुरक्षाको अवस्था, चुनौती र समसामयिक गतिविधिका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनीहरूले सीमावर्ती क्षेत्र हुँदै हुने अवैध कारोबारी गतिविधि र गिरोहजन्य आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न समन्वयात्मक अनुगमन, गोप्य सूचना आदानप्रदान, संयुक्त सुरक्षा गस्ती र अनुगमनलाई थप प्रभावकारी बनाउने प्रस्ताव राखेका थिए।>
>
बैठक समापन गर्दै जिल्ला सुरक्षा समिति सुनसरीले सहभागी सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्ता समन्वय बैठकलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।>
>
>