दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी पक्राउ, घुसस्वरूप हार उपहार लिएको आरोप

Jasus Khabar 3942+ समाचार ( )
२८ श्रावण २०८२

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योएलकी पत्नी किम किओन ही पक्राउ परेकी छन् ।

उनलाई अदालती सुनुवाइको क्रममा मंगलबार पक्राउ गरिएको बीबीसीले जनाएको छ । अदालतले प्रमाण नष्ट गर्न सक्ने सम्भावनाको आधारमा उनलाई थुनामा राख्ने आदेश दिएको हो ।

दक्षिण कोरियामा पूर्वराष्ट्रपतिहरूलाई अभियोग लगाउने र जेल हाल्ने इतिहास लामो छ । तर, पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुवैलाई जेल चलान गरिएको यो पहिलो घटना हो ।

अभियोजन पक्षका अनुसार, ५२ वर्षीया किमले दक्षिण कोरियामा बीएमडब्लूको डिलर डोइच मोटर्सको सेयर हेरफेर योजनामा संलग्न भएर ८० करोड वोन (झन्डै ५७८ हजार अमेरिकी डलर) कमाएकी थिइन् । यो घटना उनका पति राष्ट्रपतिको रूपमा निर्वाचित हुनु अगाडिको हो । उनको कार्यकालभरि यो मुद्दा राजनीतिक छायामा परेको थियो ।

किमले विवादास्पद युनिफिकेसन चर्चबाट दुइटा च्यानल झोला र हीराको हार घुसस्वरूप लिएको आरोप पनि छ, जुन उनले व्यापारिक लाभको बदलामा लिएको बताइएको छ ।

त्यस्तै किममाथि सन् २०२२ को उपनिर्वाचन र गत वर्षको आम निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि लागेको छ ।

उनका पति अर्थात् राष्ट्रपति युनलाई गत जनवरीदेखि थुनामा राखिएको छ ।

प्रतिक्रिया