अजमल अन्सारी>
सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीले सीमा सुरक्षा, लागुऔषध ओसारपसार नियन्त्रण तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई लक्षित गर्दै मातहतका सुरक्षा इकाइलाई ‘हाई अलर्ट’मा रही जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।>
बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सुनसरीस्थित सशस्त्र प्रहरी बल बिओपी बसन्तपुर र बिओपी घुस्कीको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाउन निर्देशन दिनुभएको हो।>
>
अनुगमनका क्रममा उहाँले खुला सीमाको फाइदा उठाउँदै हुने चोरी–तस्करी, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा विशेष निगरानी बढाउन निर्देशन दिनुभयो। सीमा नाकामा नियमित चेकजाँच, शंकास्पद गतिविधिमाथि निगरानी तथा सूचना संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।>
>
विशेषगरी भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै सुरक्षा निकायबीच समन्वय गरेर कडाइका साथ नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशन दिइएको जनाइएको छ।>
>
त्यस्तै मनसुन सुरु भएसँगै सुनसरीसहित तराईका जिल्लामा बाढी, डुबान तथा कटानको जोखिम बढ्न सक्ने भएकाले सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन पनि उहाँले निर्देशन दिनुभयो। विपद्का बेला तत्काल उद्धार तथा राहतमा परिचालन हुन सक्ने गरी जनशक्ति, उद्धार सामग्री, डुंगा तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।>
>
बाहिनीपति थापाले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो। उहाँले सीमावर्ती क्षेत्रका स्थानीय तह, नेपाल प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी काम गर्नुपर्नेमा समेत जोड दिनुभयो।>
>
स्थलगत निरीक्षणका क्रममा बिओपीहरूको सुरक्षा अवस्था, जनशक्ति परिचालन, भौतिक पूर्वाधार, ड्युटी व्यवस्थापन तथा विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिइएको सशस्त्र प्रहरीले जनाएको छ।>
>