राष्ट्र निर्माण दलको गौर नगर समिति गठन

Jasus Khabar 3942+ समाचार ( )
२७ पौष २०८२

रौतहट । राष्ट्र निर्माण दल नेपालले संगठन विस्तार अभियानअन्तर्गत गौर नगर समितिको गठन गरेको छ । स्थानीय तहबाट जनतासँग प्रत्यक्ष संवाद, सहभागिता र संगठनात्मक सुदृढीकरण गर्ने उद्देश्यसहित नगर समिति गठन गरिएको पार्टीले जनाएको छ ।


गौरमा सम्पन्न कार्यक्रममा दलका केन्द्रीय सदस्यद्वय इसतियाक अहमद र संगीता चौधरीको विशेष उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य इसतियाक अहमदले मुलुकमा देखिएको राजनीतिक निराशा र असन्तुष्टिको विकल्पका रूपमा राष्ट्र निर्माण दल उदाएको बताउनुभयो । उहाँले नगर समिति पार्टीको आधारभूत संरचना भएको उल्लेख गर्दै यसले जनताको समस्या पहिचान, समाधानको पहल र सुशासनका सवालमा अग्रसर भूमिका खेल्ने बताउनुभयो ।


केन्द्रीय सदस्य संगीता चौधरीले नगर समितिले महिला, दलित, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको आवाजलाई स्थानीय शासन प्रणालीसम्म पुर्‍याउने सेतुको काम गर्ने उल्लेख गर्नुभयो । 


उहाँले समावेशी प्रतिनिधित्व र समान सहभागिता राष्ट्र निर्माण दलको मूल दर्शन भएको बताउनुभयो ।


कार्यक्रममा परोहा नगरपालिका पार्टी अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघका मधेश प्रदेश अध्यक्ष राजेश साहले नगर समिति केवल संगठनात्मक इकाइ मात्र नभई सामाजिक न्याय, समान अधिकार र मानवीय सम्मानका पक्षमा संघर्ष गर्ने राजनीतिक मञ्च भएको धारणा राख्नुभयो ।


जिम्मेवारीसहित नवगठित गौर नगर समितिले स्थानीय तहमा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । समितिले जनसमस्या संकलन, जनचेतना अभिवृद्धि, संगठन विस्तार र सामाजिक सद्भाव प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।


गौर नगर समितिका पदाधिकारी तथा सदस्यहरू यस प्रकार रहेका छन् :

अध्यक्ष : विन्देश्वर सहनी

कोषाध्यक्ष : गीता देवी

सचिव : श्याम सुन्दर यादव

सदस्यहरू : रविन्द्र पण्डित, रामईश्वर यादव, छेदी राय चमार, सत्यनारायण साह, जगदीश, नागेन्द्र बैठा, नर्मला देवी र जवीसा खातुन ।


पार्टीले नगर समितिको गठनसँगै रौतहट जिल्लामा संगठन विस्तारले गति लिने र वैकल्पिक राजनीतिक धारलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया