रवि लामिछानेलाई थुन्ने र मेरो रिट खारेज गर्ने न्यायाधीस एउटै हुन् : मुकुल ढकाल

Jasus Khabar 3942+ समाचार ( )
३० श्रावण २०८२

 राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई थुनामा पठाउने आदेश र आफ्नो रिट खारेज गर्ने न्यायाधीस एकै रहेको बताएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले अदालतको फैसला स्वीकार गर्ने बताएका हुन् । ‘रवि दाइलाई पुर्पक्षमा थुन्ने उच्च अदालतको आदेशलाई सदर गर्ने र मेरो रिट खारेज गर्ने न्यायाधीश एकै व्यक्ति हुन्। हिजो रवि दाइलाई थुन्दा ‘झोले’ न्यायाधीश ठहरिने र आज मेरो रिट खारेज गर्दा ‘महान्’ ठहरिने( यस्तो हुँदैन र, यसरी सोच्नु पनि हुँदैन। हिजो पनि आज पनि, अदालत सही नै छ। न्यायाधीशहरू न्यायमूर्ति नै हुन्’, उनले विज्ञप्तिमा भनेका छन्, ‘एक राजनीतिक कार्यकर्ता भएपछि यो कुरा बुझ्नुपर्छ कि अदालत नै निर्णायक हो र अदालतलाई विवादमा ल्याउनु कदापि उचित हुँदैन। अदालतमा रहेका बेथितिहरू सच्याउनका लागि संविधानका धाराहरू, विभिन्न ऐन-कानुनका दफाहरू तथा अन्य नीतिगत निर्णयमार्फत सुधार गर्नुपर्छ- अदालतलाई विवादमा नतानी। यदि रवि दाइमाथि राजनीतिक प्रतिशोध साँधिएको भनेर मान्ने हो भने त्यही शक्ति जसले रवि दाइलाई जेलमा राख्न चाहन्छ, त्यसैले मलाई पनि पार्टीबाट बहिर्गमन गरायो र पार्टीमा फर्किन अवरोध खडा गरिरहेछ। तर यसरी मात्र सोचिरहँदा र यसरी नै राजनीति गर्दै जाँदा हामी राष्ट्र निर्माणको मूल उद्देश्यबाट टाढा हुन्छौँ। पछिल्लो एक वर्षमा हामी राष्ट्र निर्माणको मूल उद्देश्यबाट टाढा भइरहेछौँ। हिँड्दा कहिलेकाहीँ लडिन्छ, तर लड्यो भने पनि उठेर फेरि हिँड्न सक्नुपर्छ, अनि हिँडिन्छ।’

पार्टीमा रहस्यमयी आगन्तुकको प्रभाव रोक्न अन्तिमसम्म प्रयास गर्ने उनले बताएका छन् । पुरानो पार्टीबाट म्यान्डेट लिई ‘गंगा स्नान’ गर्न पार्टीमा आएका रहस्यमयी आगन्तुकहरूको कब्जाबाट पार्टीलाई बचाउन म अन्तिमसम्म प्रयास गर्नेछु,’ उनले भने ।

सर्वोच्च अदालतले आफ्नो मागदाबी अस्वीकार गरे पनि फैसलाको पूर्ण पाठ आएपछि कानुनी प्रक्रियाको अन्तिम अवसरसम्म लडाइँ जारी राख्ने उनको भनाइ छ ।

प्रतिक्रिया