सुनसरीको धरान उपमहानगरपालिका–४ सर्दु जलाधार क्षेत्रबाट प्रहरीले २७५ केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार गागुरीगडी–८ का २१ वर्षीय दिवसन राईलाई आइतबार राति पक्राउ गरिएको हो ।>
राई धनकुटाबाट भारी मात्रामा गाँजा बोकेर धरानतर्फ झर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी आवश्यक कानुनी कारबाही अघि बढाइएको डिएसपी राईले जानकारी दिए।>
यसैबीच, कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको सडक किनाराबाट प्रहरीले बेवारिसे अवस्थामा १८ बोरा गाँजा बरामद गरेको छ । अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको गस्ती टोलीले आइतबार ६३७ किलो ४५ ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । प्रहरीले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजतलास तीव्र बनाएको जनाएको छ ।>
यता, उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको टोलीले चेकजाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की ३५ वर्षीया लिला देवी राम र लहान–८ की ३० वर्षीया अस्मिता रामलाई क्रमशः ६ किलो ८४६ ग्राम र ५ किलो ६ ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ । उनीहरूलाई पनि आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
>>